गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन ग्यास पुगेको छ । जनकपुरदेखि आएका प्राविधकहरुले एक हप्ता लगायर अक्सिजन उपकरणमा सिस्टम जडान गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल मध्ये स्रोत साधनको पहुँचको हिसावले सबै चीज भएको र नभएपनि मिलाउन सक्ने पहुँच रहेको अस्पताल हो गोरखा ।
५० शैयामा अक्सिजन आपूर्ती
५० शैया क्षमताको अस्पतालका सबै कक्षमा अक्सिजन पाइप जडान गरिएको छ, आवश्यक पर्दा जतिवेला पनि प्रयोग गर्न सकिन्छ प्राविधिक सन्तेन्द्र कुमारले भने । यहाँ जडानको काम सकियो, छिटो गरी नारायणी अस्पतालमा यस्तै कामका लागि पुग्नुपर्ने उनले बताए ।
अक्सिजन प्लान्ट इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ । प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन हुने र सिधै पाइपलाइन मार्फत विरामीको बेडसम्म पुग्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । अस्पतालमा अक्सिजनको माग यसले केही हदसम्म पूरा गर्ने उनले बताए । थोरै मात्रमा अक्सिजन दिनुपर्दा धेरै विरामीलाइ पुग्ने र धेरै दिनुपर्दा पनि १० जनालाइ चौविसै घण्टा दिन सकिने उनले बताए ।
कोठासम्म अक्सिजन पुगेको छ, त्यसलाई शैयामा पुग्ने गरी फिटिङ गर्न प्राविधिकहरु आएका हुन् । आजैदेखि काम गरेर भोलिसम्म पूरा हुने प्राविधिकले बताएका छन् । अस्पतालका ५० शैया रहेका ठाउँमा अक्सिजन सहितको पाइप पुगेको छ ।
आवश्यक पर्दा नयाँ भवनको प्रशासनिक कोठाहरुमा ५० शैया भन्दा धेरै शैया राखेर विरामीको उपचार गर्न सकिने अवस्था रहको छ । स्थानीय नागरिकले भने ३७ करोड लगानी गरेर चार तले भवन निर्माण भएको छ, यहाँ भएका कोठाहरु के कामका लागि प्रयोग गर्ने भन्ने भइरहेका बेला निमित्त मेडिकल सुपरिटेन्डेण्ट शान्ति भुर्तेल विरामी राख्ने कोठा नभएको भन्दै विरामीलाइ अन्य अस्पतालमा रिफर गर्ने गर्छन ।
कोभिडका विरामीहरु उपचार गर्न कस्ले रोक्यो भन्ने प्रश्नमा भुर्तेलले भनिन, ‘अस्पतालमा अरु विरामी पनि हुन्छन् उनीहरुको पनि उपचार गर्नुपर्छ, यो कोभिडका विरामीलाइ मात्रै भनेर बनाएको अस्पताल होइन नि ।’ सिमित शैयामा मात्र कोभिडका विरामीको उपचार गर्ने र धेरै विरामी आए ठाउँ अभावमा रिफर गर्ने उनले बताइन ।
छिल्लो ६ महिनमा न्युनतम सेवा मापदण्डमा अनुतीर्ण भएको गोरखा अस्पतालमा प्रदेश सरकारले चितवनका नागरिकलाइ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गरी पठाएको छ ।