राजमोका केन्द्रीय कार्यक्रमअन्तर्गत आइतबार बागलुङका १० वटै पालिका केन्द्रमा गरिएका विरोधसभामा केन्द्र तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको असक्षमता तथा लापरवाही र भ्रष्टाचारको विरोध गर्ने भन्दै बागलुङ बजारमा आयोजना गरिएको सभालाई राजमो केन्द्रीय सदस्य कृष्ण थापाले सम्बोधन गर्दै तीन तहका सरकारका बीचमा समन्वय नरहेको भन्दै भ्रष्टाचारको नियन्त्रण र कोभिड–१९ को व्यवस्थापनमा सरकारहरु चुकेको आरोप लगाए।
‘सत्तामा रहेको पार्टीभित्र लभ लेटर आदानप्रदान चलिरहेको छ, देश संकटमा रहेको बेला लापरवाही भइरहेको छ’, थापाले भने, ‘यो दुई तिहाईको सरकारको असक्षमता हो।’ तीन तहबीच समन्वय अभावले देशमा संघीयता आवश्यक नरहेको पुष्टि भइरहेको उनले दाबी गरे।
सत्तामा रहेकाहरु भ्रष्टाचारमा लिप्त भएका कारण कोरोना महामारीको समयमा नागरिकले राहत पाउनेगरी काम नभएको उनले दाबी गरे। गण्डकी प्रदेशसभा सदस्य तथा प्रदेश मामिला सभापति समेत रहेका थापाले प्रदेश सरकार आन्तरिक खिचातानीमा अल्झिएको आरोपसमेत लगाए।
बागलुङ बजारमा भएको कार्यक्रममा नगर कमिटी अध्यक्ष थानेश्वर सुवेदीले पहिलेको कांग्रेस सरकारभन्दा नेकपा नेतृत्वको दुई तिहाईको सरकार जनतामाझ गिरेको आरोप लगाए।थाहा खबरबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.