पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।
परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए। ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए।
पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन्। उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताए।
यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले कारबाहीमा परेका ११ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तीन दिनभित्रमा स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको भए पनि कुनै पनि नेताले जवाफ पेस नगरेकाले कारबाही प्रक्रिया अघि बढाइएको ज्ञवालीले बताए।
यसैगरी, बैठकले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसरी स्पष्टीकरण सोधिएकामा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन्। उनीहरूलाई २४ घण्टाभित्रमा स्पष्टीकरण पेस गर्न भनिएको छ।
कारबाहीमा परेका तथा स्पष्टीकरण सोधिएका नेताहरू विपक्षी गठनबन्धसँग मिलेर नयाँ सरकार गठन गर्ने अभियनामा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनीहरूले पुनस्र्थापनाको माग गर्दै विपक्षीसँग साठगाठ गर्दै आइरहेका छन्।
सर्वोच्च अदालतको फैसलासँगै कायम भएको नेकपा एमाले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काइनुपर्ने नेता नेपाल समूहले माग गरिरहेका थिए। यसअघि पनि एमाले नेताहरू नेपाल, रावल पाण्डे र भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको थियो। तर, पछि सो निलम्बन फुकुवा गर्दै पार्टी एकता जोगाउन कार्यदल बनाइएको थियो। तर, एमालेका कारबाहीमा परेका नेताहरूले आफ्नै पार्टी अध्यक्षविरुद्ध विपक्षीसँग साँठगाठ गरेपछि पार्टी फुटको सँघारमा पुग्दै आएको थियो। यसैगरी, बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ।
अब नयाँ पार्टी खोल्छौंः नेता खनाल
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे। आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए।
‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन। हामी नयाँ पार्टी खोल्छौं। प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने।
यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन्। समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन्। राजधानी दैनिकबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.