पोखरा।देउवा नेतृत्तवको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो । प्रदेश प्रमुख फेर्नका लागि सत्तारुढ गठबन्धनका दलले भागबण्डा गरेका छन् । भागबण्डा अनुसार प्रदेश नम्बर १ मा परशुराम खापुङ, सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बन्न लागेका हुन् ।
सुदूरपश्चिममा कांग्रेसको भागबाट पूर्वसभासदसमेत रहेका जोशी, प्रदेश १ मा पूर्वसभासदसमेत रहेका जसपाको भागबाट खापुङ र कर्णालीमा माओवादी केन्द्रको भागबाट परियार प्रदेश प्रमुख बन्ने भएका हुन् । परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । सरकारले बागमती, प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिसकेको छ ।
माओवादी र एमालेबीच पार्टी एकता भंग भएपछि केपी ओली नेतृत्वको सरकारले परियारलाई हटाएको थियो । सरकारले यसअघि केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेर नियुक्त भएका प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनीलाई हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । उनीहरु तीनै जना एमालेनिकट हुन् ।
सरकारले तीनै जनालाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जनाएको छ । ईकागजबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.