Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

सरकार स्थिर बनाउनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली: बाबुराम भट्टराई

loading views..

गोरखा। जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेट कार्यक्रममा उनले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर हुन नसकेको बताएका हुन् ।

‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन,’ उनले भने, ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन ।’

उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पूर्ण छैन,’ उनले भने, ‘संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।’

अहिलेको नेपालको संघीयता आफूहरूले खोजेको जस्तो संघीयता नभएको समेत डा. भट्टराईको दाबी थियो । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, संघीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनु पर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र संघीयता होइन,’ डा भट्टराईले भने, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनु पथ्र्यो ।’

अर्को प्रसंगमा उनले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनु पर्ने बताए । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन,’ उनले भने, ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्