Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

विप्लबसँग एकता निश्चितःप्रचण्ड

loading views..

भरतपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवसँग सहकार्य गर्दै एकतामा जाने समझदारी बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विप्लवसँग पटकपटक भेट भइरहेको र शनिबार बिहान पनि गम्भीर रुपमा छलफल भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘विप्लवसँग सहकार्य भइरहेको छ, यसलाई एकतासम्म लैजाने समझदारी बन्दै गएको छ । चुनावमा गठबन्धन गरेर जाने समझदारी बनिसकेको छैन, तर त्यो रुपमा अगाडि बढाउने समझदारी बन्दै गइरहेको छ ।’ प्रधानन्यायाधीशको विषयमा पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको अहिलेको विवाद केहीदिनमा समाधान हुने अपेक्षा गरे ।

उनले भने, ‘अदालतभित्रको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने हाम्रो चाहना हो । केही दिनभित्रैमा समस्या समाधान होस् भन्ने आशासहितको वक्तव्य पाँच दलीय गठबन्धनले वक्तव्य निकालेका हौँ ।’ उनले राजनीतिक दलहरुले अदालतभित्र कहीँकतै हस्तक्षेप गरेको नदेखियोस् भन्ने आफ्नो र सरकारको चाहना भएको बताए । उनले भने, ‘अदालतमाथि राजनीतिक हस्तक्षेप भयो भन्ने नपरोस् भनेर हामी सचेत छौँ, त्यहाँको समस्या त्यहीँ समाधान होस् भन्ने हामी सबैको चाहना हो ।’

अध्यक्ष प्रचण्डले एमसिसी फिर्ता जाहोस् भन्ने आफू र सरकारले नचाहेको बताए । उनले भने, ‘अमेरिकाको अनुदान लिनुपर्छ । आवश्यकता छ । अमेरिकाबाट सहयोग लिँदै आएको छौँ ।’ राष्ट्रिय सहमति गरेर राजनीतिक दलसँग छलफल गरेर एउटा समझदारी गरेर निकास निकाल्ने कोशिस गरेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले एमालेका कारण एमसिसी सम्झौतामा केही ढिला भएको बताए । उनले भने, ‘महाधिवेशनपछि छलफल गरौँला भनेपछि एमसिसीमा केही ढिला भएको हो, तर सबैसँग समझदारी गरेर परिमार्जनसहित एमसिसीलाई अगाडि बढाउनेमा छलफल भइरहेको छ ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्