Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

मंसिरमै शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने तयारी

loading views..
Nepal Telcome

पोखरा। शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटका लागि अनलाइन माध्यमबाट आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले अनलाइन आवेदनको लागि तयार गरिएको सफ्टवेयर परीक्षण भइरहेको  जानकारी दिए । उनले भने ‘हामी अनलाइन आवेदनको लागि तयारी गरेको सफ्टवेयरको परीक्षण गरिरहेका छौं । कार्यतालिकाभित्रै रहेर विज्ञापन खोल्छौं ।’

आधुनिक प्रविधिको प्रयोगसँगै सबैका लागि सहज बनाउने उद्देश्यले अनलाइन विज्ञापन खोल्ने तयारी गरेको अध्यक्ष रेग्मीको भनाइ छ ।

आयोगको कार्यतालिका अनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यस अनुसार आगामी शैक्षिक वर्षको मध्यमा नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्नेछन् ।

सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यामिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ ।

बढुवाको विज्ञापन अन्यौलमा

आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन भने अन्योलमा परेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन हुन नसकेपछि मंसिरमा विज्ञापन खोल्ने आयोगको कार्यतालिका प्रभावित भएको छ ।

मंसिरभित्रै नियमावली संशोधन गरी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा विज्ञापन खुलाउने तयारी आयोगले गरेको थियो । आयोगका अध्यक्ष नियमावली संशोधन हुन नसक्दा आन्तरिक तर्फको विज्ञापन भने अन्योलमा परेको बताए ।

उनले भने ‘नियमावली संशोधन क्याबिनेटमा पुगेको छ । पार्टीहरुको महाधिवेशनका कारण क्याबिनेट नियमित बस्न नसक्दा नियमावली संशोधनमा हुन सकेको छैन । त्यसैले यो विज्ञापन चाँहि अन्योलमा परेको छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link