पोखरा। काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको फाइनल सर्भेका लागि भारतीय जनशक्ति लोकेसनका लागि परिचालन गरिएको छ । नेपाल र भारत सरकारबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको हो ।
रेल विभागका सुचना अधिकारी अमन चित्रकारले एमओयू अनुसार लोकेसनमा फाइनल सर्भेका लागी भारतले जनशक्ति परिचान गराउने क्रममा रहेको बताए । उनले केही दिनमै सबै प्राविधिक जनशत्ती सर्भेका लागी आइसक्ने बताए ।
‘एमओयूपछि भारतबाट फाइनल सर्भेका लागि जनशत्ती केही दिनमा सबै परिचालन हुनेछन्, सर्भे पछि बनाउने काम पनि उनीहरुले आफै गर्नेछन्,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।
भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले रक्सौलतर्फबाट अध्ययन थालेको हो । नेपाल र भारत सरकारका बीच गएको असोज २२ एमओयू भएको थियो । सम्झौता अनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । सो अध्ययन पछि आयोजनाको विस्तृत रिपोर्ट तयार हुनेछ । सोही आधारमा लगानी खोजिने छ ।
काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७६ भदौमै सकिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन २०७५ का क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
नेपाल सरकारसँगको समन्वयमा कोंकणले ८ महिना लगाएर प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १३६ किलोमिटर हुनेछ । वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौं जोड्ने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । उक्त अध्ययनले रेलमार्ग निर्माणका क्रममा ४२ किलोमिटर सुरुङ बन्ने देखाएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.