पोखरा। भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढसँगै आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
निफ्राको भारतीय र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने प्रस्तावसहितको फाइलमाथिको छलफल प्रक्रियालाई ऊर्जा, जलश्रोत तथा सिँचाईं मन्त्रालयले तिब्रता दिएसँगै बैंकको सेयर खरीद गर्न लगानीकर्ता झुम्मिएका हुन् ।
आइतबार बैंकको ३ लाख ३५ हजार ८४३ कित्ता सेयर १२ करोड २८ लाख ५६ हजार ५३८ कित्ता सेयर खरीद बिक्री भएको छ । बैंकको सेयरमूल्य दश प्रतिशत अर्थात ३४.१० रुपैयाँले बढेर ३७५.१० रुपैयाँ पुगेको छ । आईपीओ निष्काशनपछि प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको बैंकको सेयरमूल्य मंसिर २७ गते प्रतिकित्ता २७० रुपैयाँसम्म झरेको थियो ।
मन्त्रालयले प्रस्ताव अगाडि बढाएपछि बैंकको सेयर कारोबार संख्या पनि उच्च बढेको छ । गत बिहाबार १ लाख १० हजार कित्ता सेयर कारोबार भएकोमा आइतबार तीन गुणा बढेर ३ लाख ३५ हजार ८०० बढीकित्ता सेयर कारोबारमा आएको हो ।
उर्जा मन्त्रालयले छिमेकी मुलुकहरुमा विद्युत बिक्री गर्ने बैंकको उक्त फाइलमाथि छलफल अगाडि बढाएपछि सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मन्त्रालय नेपालको विद्युत् बेच्न सक्ने क्षमता अध्ययन गरेर बैंकलाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक छ ।
मन्त्रालयले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरेर कार्यविधि र त्योसँग सम्बन्धित विषयमा काजगपत्र तयार गर्ने प्रक्रिया थालेको छ । निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ ।
निफ्राले आफ्नो सहायक कम्पनीको रुपमा विद्युत ब्यापार कम्पनी स्थापना गर्ने गरेको प्रस्तावमा विदेशी कम्पनीहरूको ३६ प्रतिशत, निफ्राको १५ देखि २० प्रतिशत, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको २५ देखि ३० र सर्वसाधारणलाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) का लागि स्वामित्व हुने प्रस्ताव गरिएको छ ।
नेपालमा उत्पादित विद्युतको माग बढाउन तथा व्यापारीकरणमा योगदान पुर्याउने उदेश्यले बृहत सहभागितामा विद्युत ब्यापर कम्पनी स्थापना गर्न बैंकले प्रस्ताव गरेको हो । प्रस्तावित कम्पनीले कर्णाली, भेरी, र सेती करिडोरमा गरिएको नयाँ तथा ठुला परियोजनाको पीपीए गरि विद्युत निर्यात गर्ने हुँदा उत्पादन, प्रसारण तथा ब्यापारलाई एकिकृत रुपमा बढाउने भएकोले प्राधिकरणलाई सहज हुने बताइएको छ ।