भरतपुरमा सञ्चालित योजना समयमै सम्पन्न गर्न मेयर दाहालको निर्देशन

भरतपुरमा सञ्चालित योजना समयमै सम्पन्न गर्न मेयर दाहालको निर्देशन

  • आइतबार, फाल्गुन ८ २०७८

चितवन।भरतपुर महानगरभित्र सञ्चालित योजनाहरूलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छन्। सघन सहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भरतपुर महानगरले सञ्चालन गरेका निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण व्यवसायीलाई निर्देशन दिएकी हुन्।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारीबीचको कार्य समीक्षा बैठकमा यस्तो निर्देशन दिइएको हो। सो अवसरमा निर्माण व्यवसायीको समस्या सुनेपछि महानगर प्रमुख दाहालले धेरै बाहनावाजी गरेर काममा ढिलाइ गर्ने छुट अब निर्माण व्यवसायीलाई नभएको बताइन्। महानगरमा विकासका लागि बजेट पार्नभन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठुलो चुनौती रहेको उनको भनाई थियो। निर्माण व्यवसायीले गरेको काम बाट आफू खुसी नभएको बताउँदै उनले निर्धारित मितिमा काम सम्पन्न नगरे अब समय थप नहुने चेतावनी दिइन्।

निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले इमानदारीपूर्वक काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन। सो अवसरमा निर्माण व्यवसायीहरूले खानेपानी, वन बिद्युतका कारण निर्माण कार्य समयमै हुन नसकेको बताएका थिए। त्यस्तै माटो र ग्राभेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको बताएका थिए। मेयर दाहालले प्रक्रिया पुराएर कबिलासमा ६ ठाउँमा उत्खननको अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताएकी थिइन्।

सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीले इमानदारी पूर्वक काम गरेर महानगरको विकासमा साथ दिन आग्रह गरिन। निर्माण व्यवसायीले समयमै राम्रो र गुणस्तरीय काम गरे मात्रै आफूहरूले गरेको मेहनत देखिने भन्दै उनले यही चैत्रसम्म बाकी सबै आयोजनाको काम सक्न निर्देशन दिइन्।

कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले एकले अर्कालाई दोष लगाएर भन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्नु पर्ने बताए। आवश्यक समन्वय र शान्ति सुरक्षाका हकमा प्रशासन तयार रहेको भन्दै निर्माण कार्य गर्दा गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे। गुणस्तर हीन काम गर्ने र समयमै काम नगर्नेहरू माथि प्रशासन कडा बन्ने उनले चेतावनी दिए।

कार्यक्रममा भरतपुर महानगर प्रवक्ता अरुण पीडित भण्डारीले निर्माण व्यवसायीले अरूलाई मात्रै दोष नदेखाई आफ्नो जिम्मेवारी अन्तर्गतको काम प्रभावकारी तवरबाट गर्न निर्देशन दिए। छलफलमा सहभागी सबै जसो निर्माण व्यवसायीले आफूले सञ्चालन गरेको आयोजनाको कार्यप्रगतीका बारेमा जानकारी गराएका थिए भने सरकारी कार्यालयका अधिकारीहरूले काममा आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए।

बैठकले गर्‍यो यस्तो निर्णय

१. सघन सहरी तथा भवन निर्माण आयोजनाको प्याकेज १ र २ अन्त्रगतको सडक खण्डको बाकी काम चैत्र २५ गते भित्र सम्पन्न गर्ने । अहिले प्रगति कम भएको सहिद चोक धर्म चोक,सडक खण्ड,पुलचोक रिगंरोड खण्डको बाकी काम निर्माण कार्यलाई तीव्रता दिने ।

२. प्याकेज ३ अन्त्रगत बसपार्क ९ मन्दिर एप्रोच सडक० को सम्पूर्ण निर्माण काम चैत्र २८ भित्र सम्पन्न गर्न र बसपार्कको बाकी काम १५ दिन भित्र सम्पन्न गर्ने ।

३. भरतपुर महानगर सिटी हलको निर्माण तोकिएको समय भित्र सम्पन्न गर्ने

४. देवघाट शबदाह गृहको निर्माण को प्रगति सन्तोषजनक नदेखिएकाले यसलाई तीव्र गतिमा निर्माण गरी हरेक ७ दिनमा प्रगति कार्यालयमा पेश गर्न निर्माण कम्पनीलाई निर्देशन गर्ने ।

५. नदीजन्य निर्माण सामग्रीको सम्बन्ध महानगरले कबिलासमा आई इ इ सम्पन्न गरिसकेकोले त्यही बाट निर्माण सामाग्री झिक्नका लागि कार्यादेश दिने । त्यस्तै सडक र खानेपानी बिद्युत सँग समन्वय गर्ने काममा महानगरले भूमिका खेल्ने ।

६. सडक डिभिजन कार्यालय अन्त्रगत रहेको ६ लेन सडक विस्तार तथा स्तरोउन्नती कार्यको लागि खानेपानी पाइप स्थानान्तरण, गोन्द्रागंमा रहेका सालका रुखहरू कटान तथा चौबिसकोठी पुलचोक सडकमा बिजुलीका पोलहरू सार्ने कार्य चैत्र मसान्त सम्म सक्ने ।

७. हुलाकी सडक आयोजनाको हाकिम चोक देखी पकौडी सडकमा रहेका खानेपानीको पाइप तथा बिजुलीका पोलहरू सार्ने कार्यमा संलग्न सबै पक्षले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने ।

८. बाइपास सडकको निर्माण सम्बन्धमा भएका समस्या डिभिजन वन कार्यालय चितवनले सहजीकरण र समन्वय गरिदिने र खानेपानीको पाइपका सम्बन्धमा खानेपानीले सहजीकरण गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.