स्थानीय तह निर्वाचनबारे केन्द्रीय समितिले गरेको निर्णय के हो ?
– पार्टी दर्ता गरेर निर्वाचनमा भाग नलिने केन्द्रीय समिति बैठकको निर्णय हो । तर, कुनै जनपक्षीय, देशभक्त र स्वतन्त्र खालका मान्छेहरू चुनावमा उठे भने तिनलाई समर्थन गर्न सकिने निर्णय भएको हो । मूल पाटो भनेको चुनावमा भाग नलिने र संसदीय व्यवस्थाको भण्डाफोर कार्यक्रम राख्ने नै हो ।
अहिलेसम्म आधिकारिकरूपमा निर्णय किन सार्वजनिक नगरेको ?
– उहाँहरू(विप्लव–प्रकाण्ड) खासगरी महासचिव कमरेड त्यसका लागि किन तयार हुनुभएन थाहा छैन । त्यो उहाँको कुरा होला । सार्वजनिक गर्न चाहनुभएन । अहिले जे गतिविधि भइरहेका छन् त्यो गर्न पाइँदैन भने हो कि ? उहाँले बैठकमा जे प्रस्ताव राख्नुभएको थियो त्यो पारित नभएपछि नै त्यसलाई लुकाउन खोज्नुभयो ।
नेतृत्वले आफ्नो अक्षमता छोप्न निर्णय लुकायो ?
– एकदमै, त्यही कुरा हो ।
उहाँहरू(विप्लव–प्रकाण्ड)ले केन्द्रीय समितिको निर्णयको उल्लंघन गर्नुभयो । निर्णय उल्लंघन गर्नु भनेको पार्टी विघटन गर्ने विषय हो । उहाँहरूले त विघटन गरिसक्नु भयो । हाम्रो प्रयत्न निर्णय पालन गरेर जानुस् भन्ने नै हो । भएन भने हामीले पार्टी पुनर्गठन गर्नुपर्ने हुनसक्छ ।
तपाईले निर्वाचनमा नजाने निर्णय गरेको भन्नुहुन्छ । नेतृत्व तहकै कतिपय नेता-कार्यकर्ता निर्वाचनको तयारीमा होमिएको पो देखिन्छ त ?
– उहाँहरू पुरै उल्टिएर सुरुमा जुन प्रस्ताव गर्नुभएको थियो त्यसैमा जानुभयो । उहाँहरूले निर्णयको उल्लंघन गर्नुभयो । यसबाट स्थिति गम्भीर भएको प्रमाणित हुन्छ । हामीले छलफल गरिराखेका छौँ । अब कसरी जाने भन्ने कुरा नयाँ कुरा हुन्छ ।
नेतृत्व नै केन्द्रीय समितिको निर्णयविपरीत जान खोजेको देखियो, अब के हुन्छ ?
– त्यो त अनुशासनको विषय हुन्छ । अनुशासनको विषयमा उहाँहरू अनभिज्ञ हुनुहुन्न होला । सचेत रूपले जानुभयो भने केन्द्रीय समितिको निर्णय उल्लंघन भयो । त्यसको लागि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।
कारबाही कसले गर्ने ?
– प्रक्रिया के अपनाउनु पर्छ त्यो छलफलको विषय भयो । हामी मूल नेतृत्वसित छलफल गरिरहेका छौँ । उहाँहरूले निर्णय मान्नुपर्छ । मान्नु भएन भने केन्द्रीय समितिको निर्णय मान्ने साथीहरूले नयाँ ढंगले सोच्ने कुरा हुनसक्छ ।
केन्द्रीय समिति बैठकपछि सचिवालय तहमा यसबारे कुनै छलफल भएको छ ?
– सचिवालय तहमा कुनै छलफल भएको छैन । सामान्यतः हामीले कुराकानी गरेका छौँ । उहाँहरूले स्वीकार गर्नुभएको छ । हामीले यसरी जान खोजेका होँ भन्ने नै छ । त्यसो भएको हुनाले मूलतः यो अनुशासनको विषय बन्छ भनेर राखिसकेका छौँ ।
तपाईंका अनुसार महासचिव नै केन्द्रीय समितिको निर्णयविरुद्ध देखिनुभयो । तपाईहरूले अनुशासनको कारबाहीको कुरा गरिरहनु भएको छ । पार्टी त दुर्घटनाउन्मुख देखियो ?
– दुर्घटना भन्दा पनि पार्टी पुनर्गठनको विषय आउन सक्छ । किनभने केन्द्रीय समितिको निर्णय उल्लंघन गर्ने भनेको पार्टी विघटन गर्ने विषय भयो । उहाँहरूले त विघटन गरिसक्नु भयो ।
तपाईहरूले पुनर्गठनको तयारी पनि गरिरहनुभएको हो ?
– होइन, हामीले त्यो ढंगले नसोची हुँदैन । यदि उहाँहरूले त्यसलाई सच्याउनु भएन, निर्णयविरुद्ध जानुभयो र त्यसबाट पछाडि फर्किनु भएन भने हामी अघि बढ्नुपर्ने हुन्छ ।
उहाँहरू त अगाडि बढिसक्नुभयो । उहाँहरू रोकिनु भएन भने तपाईंहरू पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुहुन्छ ?
– त्यो त हाम्रो बाध्यता हुन जान्छ । किनभने केन्द्रीय समितिमा हाम्रो सहमति के हो भने ‘पार्टीको केन्द्रीय सदस्यहरू कोही पनि चुनावमा नजाने, जिल्ला समिति सदस्य पनि नजाने र कोही स्वतन्त्र ढंगले जान चाहे राजीनामा गरेर जानसक्ने’ भन्ने थियो । यो पुरै उल्लंघन भएको छ । अहिले केन्द्रीय सदस्यहरूलाई ठाउँठाउँबाट उम्मेदवारी दिन भनिएको छ । उहाँहरू लागिसक्नु भएको छ । यो ढंगले अगाडि बढ्दा पुरै पार्टीको ‘स्पिरिट र सारविरुद्ध खुल्लै ढंगले अगाडि बढिएको/बढाइएको छ । यो विषय त पूर्ण रूपमा अनुशासनको विषय हुने कुरा भइहाल्यो ।
यही व्यवस्थाविरुद्ध संघर्ष गर्नुभयो । केहीले ज्यान गुमाए । कयौँ अहिले पनि हिरासतमा छन् । सयौँमाथि मुद्दा छन् । चुनावमै जानु थियो भने संघर्ष किन गरेको भनेर कार्यकर्ताले प्रश्न गर्न थालेका छन् नि ? खासमा यो अवस्थामा पार्टी कसरी र किन पुग्यो ?
– मूलरूपमा उहाँहरूको मार्क्सवाद र लेनिनवादप्रति राम्रो जग रहेनछ । सैद्धान्तिक जग नै खत्तम रहेछ । उहाँहरू खासगरी भावनात्मक र महत्वाकांक्षाका हिसाबले लाग्नु भएको रहेछ । त्यो कुरा प्रष्ट रूपमा देखा पर्यो । उहाँहरू भित्रको खोक्रोपन अहिले देखियो । हिजो एउटा महत्वाकांक्षाले गर्दा उहाँहरूले पार्टी पुनर्गठन गर्नुभयो । सैद्धान्तिक, राजनीतिक आधार नै खोक्रो भइसकेपछि त्यसमा टिक्न सक्नु भएन र उहाँहरू यो दलदलमा फस्नुभयो । संसदीय दलदलमा फस्नुभयो ।
आजसम्म जे–जे गरे त्यो देखावटी रहेछ ?
– त्यो सब देखावटी रहेछ भन्ने प्रष्ट भयो ।
भनेपछि पार्टी त विभाजनतर्फै जाने देखियो ?
– होइन, हाम्रो प्रयत्न निर्णय पालन गरेर जानुस् भन्ने नै हो । त्यसतर्फ नै प्रयत्न गरिरहेका छौँ । जोड दिएर लागेका छौँ । अन्ततः यो सबै गतिविधिले उहाँहरू जानीबुझी, सल्लाह अनुसार जसरी जानुभएको छ । उहाँहरूले यो पार्टी विघटन गरिसक्नु भयो । अब उतापट्टि ल्याप्चे लगाउन मात्र बाँकी छ । त्यो हामी पर्खिन्छौं । के देखा पर्दो रहेछ । पार्टीको मूल सिद्धान्त र कार्यनीतिबाट उहाँहरू च्युत भइसक्नुभयो ।
कारबाही र पार्टी पुनर्गठनको कुरा गरिरहनु भएको छ । तपाईंहरू के बहुमतमा हुनुहुन्छ ?
– त्यो त सबैलाई थाहा भएकै कुरा हो । धेरै साथीहरूले विचारहरू प्रकट गरिसकेपछि नै त्यसका अगाडि टिक्न नसकेर केन्द्रीय समितिमा ‘ब्याक’ हुनुभएको हो ।
उहाँहरूले अन्ततः आफ्नो मन र स्वार्थलाई थाम्न सक्नु भएन । अहिले गम्भीर शंकाहरू पनि जन्मिन्छन् । उहाँहरूले तीन बुँदेका क्रममा केही गम्भीर गल्तीहरू गर्नुभएको थियो भन्ने पनि देखिन्छ । किनभने उहाँहरूले बन्दी रिहाइका लागि कुनै कदम चाल्नु भएको छैन । त्यतापट्टि ध्यानै छैन । तर, पार्टी दर्ता गर्ने या निर्वाचन आयोगमा जाने भनेपछि जहाँ पुग्न पनि तयार हुनुहुन्छ । यसरी नै बन्दी रिहाइको लागि लागेको भए हुन्थ्यो नि ।
अब शान्तिपूर्ण राजनीतिमा आइसकेपछि गर्ने के त ? निर्वाचन उपयोग गरौँ भन्ने कुरा पनि ठीकै हो कि ? अरु विकल्प के छन् त ?
– पहिलो कुरा आफ्नो प्रतिबद्धता बुझ्नुपर्यो । २०६९ सालमा के भनेर गएको हो ? यसको अर्थ त प्रचण्ड नै सही छन् भन्नुपर्ने हुन्छ । ‘मेरै गोरेटोमा आउँदैछन्’ भन्दै थिए प्रचण्डले। उहाँहरूका लागि सही साबित हुँदैछ । हाम्रो लागि त होइन । संसदीय निर्वाचनमा गएर अथवा यो खालको प्रक्रियामा गएर चाहिँ हुने भए किन पार्टी फुटाउनु, यत्रो खुन खराबी किन गर्नु ? यति धेरै मान्छेहरूलाई झुट्टा मुद्दामा किन झोक्नु । यो सबै गर्नु थियो भने त पहिले नै प्रचण्डमै बसेको भए हुन्थ्यो नि । यो सन्दर्भमा ठोस बस्तुको ठोस विश्लेषण गर्दा कुनै पनि हालतमा यो सही हुनसक्दैन । उहाँहरू गलत बाटोमा जाँदै हुनुहुन्छ ।
तपाईहरूले पार्टी पुनर्गठन गरेर के गर्नुहुन्छ त ?
– होइन, हामीलाई त्यसबारेमा छलफल गर्नुपर्ने बाध्यता भयो । पुनर्गठनसम्बन्धी नै हामीले सोच्नुपर्ने हुन्छ ।
पुनर्गठन गर्ने र त्यसक्रममा वृहत् कम्युनिष्ट एकताको प्रस्ताव अघि बढाउनुपर्ने हुन्छ । नेपालमा जो कम्युनिष्ट समर्थक जनता छन् उनीहरूलाई निरास हुन नदिन आन्दोलन अघि बढाउनुपर्ने हुन्छ । यस दिशामा जानुपर्ने हुन्छ । तर, हामी अझैं नेतृत्वलाई ट्र्याकमा ल्याउने प्रयत्न गछौँ । केन्द्रीय समितिको निर्णयमा ल्याउने कोसिस गछौँ ।