Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

loading views..
Nepal Telcome

पोखरा।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ लाख थान मतपत्र छापिने क्रम जारी छ ।

पछिल्ला केही दिनदेखि निर्वाचन सर्न सक्ने भ्रम फैलाइँदै आइएको छ । सत्तारूढमध्येको एक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन सर्न सक्ने सम्भावना रहेको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोग रुष्ट छ । नेपालले सो अभिव्यक्ति दिएलगत्तै गत मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्रसमेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए । प्रमुख थपलियाको अभिव्यक्ति हेर्दा आयोग जुनसुकै हालतमा पनि तोकिएको समयमा निर्वाचन गराउनै पर्नेमा दृढ देखिन्छ । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताएका थिए ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन सर्नै नसक्ने बताए । उनले निर्वाचन सार्ने भन्ने हल्ला प्रायोजित मात्रै हुन सक्ने बताए । ‘निर्वाचन आयोगको परामर्शबिना सरकारले निर्वाचन सार्न सक्दैन, हामी निर्वाचन सार्ने भन्ने विषयमा परामर्श दिन्नौं, आयोग समयमा नै निर्वाचन गराउन दृढ संकल्पित छ,’ आयुक्त पौडेलले भने । राजधानी दैनिकमा खबर छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link