काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आवश्यक प्राविधिक तयारी पुरा गरी आफ्नो फाइबर टु द होम इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गर्दै आएका छन् ।
कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।
अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ । हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.