गण्डकी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको देश लुट्ने काइदा

गण्डकी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको देश लुट्ने काइदा

पोखरा।गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा १० करोड रुपैयाँ व्यक्तिका नाममा विनियोजन गरेको पाइएको छ । कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारले व्यक्तिका नाममा खोलिएका ट्रष्ट र पार्क बनाउन उक्त परिमाणमा रकम विनियोजन गरेको हो ।

असार १ गते संसदमा बजेट पेश गरेपछि सरकारले ल्याएको प्रस्तावित वार्षिक कार्यक्रममा उक्त योजना समेटिएको छ । यसरी व्यक्तिका नाममा खोलिएका ट्रष्टमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायतका नेताहरुका आफन्त छन ।

बजेटमा मुख्यमन्त्री पोखरेलले बुवा गोवर्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो । यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरिएको छ । उहाँका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ ।

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले मात्रै होइन, पार्टी कार्यालयसहित विभिन्न व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन बजेट विनियोजन गरेको देखिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन बजेट विनियोजन गरिएको छ । यसका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसरी विभिन्न व्यक्तिका नाममा खुलेका कोष र पार्कका नाममा प्रदेश सरकारले १० करोड रूपैया विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ । गण्डकी सरकारको यो आपत्तिजनक ब्यवहार लुटन सके लुटको शैलीमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.