काठमाडौं। नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा अध्यक्ष प प्रचण्डसँग प्रचण्ड निवास खुमलटारमा वार्ता भएको छ ।प्रतिनिधि मण्डल र प्रचण्डबीच आज करिब दुई घण्टा वार्ता भएको हो।
प्रचण्डसँगको वार्ता सकिए पश्चात चिनियाँ टोली नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेको छ ।
हिजो नै चिनियाँ टोलीले प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष खड्गप्रसाद ओलीलाई बालुवाटारमा भेट गरेको थियो ।
आइतबार दिउँसो साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा भित्र आएको बिभाजन र अस्थीर राजनीतिबारे कुराकानी गरेको एक उच्च स्रोतले बतायो।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार मात्रै चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर काठमाडौँ आएको हो।



