Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गठबन्धन दलहरुद्वारा पोखराको नयाँबजारमा कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालयको उदघाटन

पोखरा। कास्की जिल्लास्थित सत्तारुढ गठबन्धनका नेताहरुले आसन्न आम चुनाबमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन एकजुट भएर लाग्ने प्रतिबध्ता व्यक्त गरेका छन्।                                                          पोखराको नयाँबजारमा बुधबार कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालयको उदघाटन      कार्यक्रममा बोल्ने कास्की जिल्लास्थित सत्तारुढ गठबन्धनका नेताहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाली काँगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट नभएको बताए । उनले अघि भने, “हाम्रो यो गठबन्धन पाँच दलीय गठबन्धन हो । एक्लै चुनाव लडेर हिजो माओवादीले पनि जितेको थियो, काँग्रेसले पनि जितेको थियो । २०७४ सालको निर्वाचन पश्चात एमालेमा केपी ओली र माधव नेपाल एकठाउँमा हुन सक्नुभएन । माधव नेपाल छुटेर आउनुभयो । त्यसकारण संविधानको रक्षाका लागि हामी सबै मिलेर गठबन्धन गरेका हौं । चुनाव हार्ने कोहि कसैलाई छुट छैन ।’ कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनले जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू प्रतिबध्द रहने बचन दिए।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो पहिलो कार्यकालमा प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम गरेको जिकिर गर्दै अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेण्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनु पर्ने बताए ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएको दाबी गर्दै अवस्था परिवर्तनका लागि गठबन्धनका उम्मेदवारहरुलाई आसन्न चुनाबमा जिताउनु पर्ने भनाई राखे।

कार्यक्रममा नेपाली काँग्रेसका नेता देवराज चालिसेले एउटा व्यक्तिलाई हिरो बनाउने काम राजनीतिमा गर्न नहुने बताए । ‘ओलीको विरुद्धमा गठबन्धन गरेको जस्तो भान जनतालाई नहोस् । के कामको लागि चुनाव लड्दै छु । गठबन्धन सरकार के का लागि हो भन्ने विचार प्रस्तुत हुन आवश्यक छ ।’, उनले भने । देश बनाउन इच्छा शक्तिको आवश्यकता रहेको अभिव्यक्ति उनको थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोषीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन दलका नेताहरुले सम्बोधन गरेका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्