पोखरा। मध्य नेपाल नगरपालिका १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ ।आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप छ ।
कांग्रेस वडा कार्य समितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेँशीशहर लगिएको छ । कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा ल्याएको छ ।