काठमाण्डु। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने नगरेको बताएका छन् । प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको बताएका हुन् । ‘देशको नेतृत्व गर्ने अवसर पाएँ भने जिम्मेवारी लिने कुरा गरेको तर, बाहीर सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा नभएको उनले बताए । बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा नभएको उनले प्रष्ट पारेका छन् । उनले भने ‘जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन। स्वभाविक रूपले निर्वाचनपछि सबै राजनीतिक दलका बीचमा छलफल चलेको छ। नयाँ आएका पार्टीहरूसँग पनि छलफल चलिराखेको छ,’ उनले भने, ‘मैले सधैं भनेको छु, प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने गरेको छैन।’ उनले भने ‘कांग्रेस र एमालेबीच कुरा भइरहेको छ। कुरा हुने कुराले नै टुंगो र निष्कर्षमा पुग्यो भन्न हुन्न। गठबन्धन नै कायम रहन्छ,’ उनले भने, ‘बाहिर आएजस्तो कसैसँग औपचारिक र आधिकारिक कुरा भएको छैन।’ राष्ट्रपति कसलाई बनाउने भन्नेबारे पनि गठबन्धनभित्र छलफल नभएको उनले बताए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पद प्याकेजमै सहमति गरिने उनले बताए। गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने विषयमा भने कुराकानी भएको उनले बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीसँग पनि आफूले भेटेको उनले बताए। उनले पुस १० भित्र नयाँ सरकार बन्ने पनि बताए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.