काठमाण्डु।नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको आडमा सरकार नबनेको स्पष्ट पारेका छन्। भारतीय टेलिभिजन एबीपीसँग कुराकानी गर्दै उनले विदेशी सञ्चारमाध्यममा आएका कुरा गलत भएको बताए।
‘विदेशी सञ्चार माध्याममा आएको जस्तो यो प्रो-चाइना सरकार होइन। यहाँ कोही प्रो-इन्डियन, प्रो-चाइना, प्रो-अमेरिका छैन। सबैका साथ मिलेर काम गछौं,’ उनले भने। उनले छिमेकी देशहरूसँग नेपालको युनिक सम्बन्ध रहेको प्रस्ट्याए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि भारतसँग जुन हाम्रो युनिक सम्बन्ध छ। विश्वमा कहीँ पनि यस्तो सम्बन्ध देखिँदैन,’ उनले भने, ‘हाम्रो सीमा, हाम्रो भाषा, हाम्रो इतिहास, अर्थतन्त्र र जनता-जनता बीचको सम्बन्ध छ।’
उनले भारतसँग सम्बन्ध विशिष्ट रहेको भन्दै दुई देश मिलेर इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा मजबुत बनाउनुपर्ने बताए।
उनले पहिलो औपचारिक विदेश भ्रमण पनि भारतबाटै हुने संकेत गरे। प्रधानमन्त्री भएपछि पहिलो बधाई नेपालस्थित भारतीय राजदूतबाट आएको भन्दै उनले भने, ‘मलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ जान्छु। हिजो मेरो भारतको विदेश सचिवसँग पनि थोरै कुराकानी भएको थियो। सायद मेरो पहिलो भ्रमण भारत नै हुने सम्भावना देख्छु।’