बादलले अब ‘जबज’ को वकालत गर्ने

बादलले अब ‘जबज’ को वकालत गर्ने

  • शुक्रबार, पौस १७ २०७७

काठमाडौं। कुनै बेला मार्क्सवाद, लेनिनवाद, माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा व्याख्या गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यतिबेला ओली समूहले देशव्यापी रुपमा सञ्चालन गर्ने आन्तरिक प्रशिक्षणमा मुख्य वक्ताको रुपमा खटिएका छन्। पुस १५ गते काठमाडौंको भेलालाई सम्बोधन गरेका थापाले शुक्रबार भरतपुरमा आयोजित भेलालाई सम्वोधन गर्नेछन्।

गत पुस ५ गते नेकपा औपचारिक रुपमा बिभाजित भएपछि थापा ओली समूहतिर लागेका छन्। प्रचण्ड–नेपाल समूहमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी खोजेका थापालाई ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा माथिल्लो बरियतामा राखेपछि ओली समूहमा खुलेका हुन्।

यसअघि नै ओली समूहले आफूहरुको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद ‘जबज’ भएको भन्दै त्यसको पक्षमा खरो रुपमा उत्रिन प्रदेश–१ का नेता–कार्यकर्तालाई निर्देशन दिएको थियो। भेलामा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले जबजको औचित्यलाई टोलटोलसम्म पुर्‍याउन निर्देशन दिएका थिए।

पुस १५ गते काठमाडौंमा गरिएको कार्यक्रमको ब्यानरमा लेखिएको थियो, ‘जनताको बहुदलीय जनवाद – जिन्दावाद ! समृद्ध नेपाल सुखी नेपाली !!’ उक्त कार्यक्रममा रामबहादुर थापा पनि वक्ता थिए। उनले कार्यक्रममा सम्वोधन गर्दै आफूहरु जबजको पक्षमा उभिएको बताएका थिए।

शुक्रबार भरतपुरमा आयोजित ओली समूहको भेलालाई थापाले सम्वोधन गर्नेछन्। उनले ओली समूहका कार्यकर्तालाई सम्वोधन गर्दै जबजको पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिनेछन्। भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुले सम्वोधन गर्नेछन्।

ओली समूहभित्र ईश्वर पोखरेल र थापामध्ये को वरिष्ठ भन्ने बहस पनि सुरु भएको छ। ओली सरकारमा पोखरेल उपप्रधानमन्त्री छन् भने थापा मन्त्री मात्र। तर, पार्टीका आन्तरिक कार्यकर्तामा पोखरेलभन्दा थापालाई वरिष्ठ मान्न थालिएको छ। आफूसँग भएका ५४ जना केन्द्रीय सदस्यमध्ये ५१ जनालाई प्रचण्ड–नेपाल समूहतिर पठाएर ३ नेतामात्र ओली समूहतिर रहेकाले थापालाई ‘सेनाबिनाको सेनापति’ भन्न थालिएको छ।

ओली समूहले यसअघि नै जबजलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा प्रस्तुत गर्दै आएको छ। यसपटक ओलीले पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टको मुखबाट कार्यकर्तालाई जबज पढाउने नीति अख्तियार गरेका छन्। त्यही योजनाअनुसार थापालाई देशभरिका सम्भव भेलामा जबजको प्रवक्ताका रुपमा उभ्याउने ओली समूहको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.