Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

निजी सवारीमा यात्रु बोक्ने राइड शेयरिङलाई कारबाही गर्न‍ यातायात व्यवसायीको माग

काठमाण्डु। भाडामा यात्रु ओसारपसार गर्ने निजी सवारी साधनलाई कारबाही गर्न यातायात व्यवस्था विभागमा निवेदन परेको छ । राइड शेयरिङ प्लेटफर्मका कारण भाडामा यात्रु ओसारपसार गर्ने व्यवसायी मारमा परेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले निवेदन लेख्दै कारबाही गर्न माग गरेको हो ।

“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ (२) मा निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन,” विभागलाई लेखिएको निवेदनलाई भनिएको छ ।

“यस्तै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को दफा १२(च) मा निजी सवारीसाधनले ऐनको दफा ८ (२) विपरीत यातायात सेवाका लागि प्रयोग गरेमा दर्ताको प्रमाणपत्र बढीमा छ महिनाका लागि निलम्बन गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था भएकोमा निजी प्रयोजनका निम्ति दर्ता भएका अधिकांश सवारीसाधनले कानून विपरीत भाडा लिई यात्रु ओसारपसार गर्न प्रयोग गरेको हुँदा यस्ता सवारीसाधनको अनुगमन गरी प्रयोजन विपरीत सञ्चालन भएका निजी सवारीसाधनलाई प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्थाका लागि सिफारिस काठमाडौं उपत्यका लगायत देशभर गरी यात्रु ओसारपसारमा रोक लगाई दिनुहुन अनुरोध छ,” पत्रमा लेखिएकाे छ ।

निजी प्रयोजनका लागि दर्ता भएका राता नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर भएकाले उनीहरूलाई कानून बमोजिम नियन्त्रण गर्न महासंघले अनुरोध गरेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्