सरकारको समर्थन फिर्ता लिन्छौं, प्रचण्डको आन्दोलनमा साथ दिन्छौं : मोहनविक्रम सिंह

सरकारको समर्थन फिर्ता लिन्छौं, प्रचण्डको आन्दोलनमा साथ दिन्छौं : मोहनविक्रम सिंह

  • शुक्रबार, पौस १७ २०७७

ठमाडौं। नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने बताएका छन्। नेकपालाई फुटबाट बचाउन आफूहरुले धेरै पहल र जोड दिएको भए पनि उक्त प्रयास सफल हुन नसकेको उनले बताएका हुन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फुटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे। उनले भने,‘नेकपाको यो फुट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालिन असर पारेको छ, यसको पहिलो परीणाम संसद विघटन भयो । कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’

नेता सिंहले पछिल्लो समय राजावादीहरु फेरि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए। उनले नेकपा फुटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे।

उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे। उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमत पनि ओलीले नअपनाएको आरोप लगाए। नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाइ छ। ‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ। भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ। राजसंस्था ल्याउच चाहन्छ,’ नेता सिंहले भने।

यस्तै नेपालमा अहिले भइरहेको राजावादीहरुको आन्दोलनमा बाहृय शक्तिको हात रहेको पनि उनले आरोप लगाए। उनले भनेका छन्,‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका होइनन्। यसमा भारतको हात छ। भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ।’

यस्तै प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत उनले घोषणा गरे। साथै सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको पनि उनले जानकारी दिए। #लोकपाटीबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.