‘‘पूर्वीय सभ्यताको रुपमा रहेको योगलाई जीवनविज्ञान र जीवन शैलीको रुपमा निरन्तरता दिन प्रत्येक वर्षको मकर संक्रान्तिलाई नेपालको राष्ट्रिय योग दिवसको रुपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२।०४।२८ मा निणर्य भएअनुसार प्रत्येक वर्ष हामीले यो दिवस विभिन्न नाराहरूका साथ मनाउँदै आएका छौँ’’ प्रधानमन्त्रीले भने। ‘‘संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन शुरु गरिएकाले हामी नेपालमा जुन २१ लाई संयुक्त राष्ट्रसंघको सदस्यको रूपमा अन्तराष्ट्रिय नारामा रहेर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा पनि मनाउँदै आइरहेका छौँ’’ प्रधानमन्त्रीले भने, ‘‘नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ।’’
‘‘योगदर्शन पूर्वीय समाजले संसारलाई दिएको सबैभन्दा सुन्दर र अलौकिक उपहार हो। नेपाल योगको भूमि हो र यो योग धरोहर हो। नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘तनावमुक्त शान्त मन, रोग मुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूणर् भूमिका रहन्छ। मैले संसारका विकसित भनिएका मुलूकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’’