गाेरखा। हरमटारी क्लब गाेरखाले फागुन ७ गतेबाट साताै गाेर्खाली रनिङ कप फुटबल प्रतियाेगिता गर्ने भएकाे छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कपको सातौँ श्रृङ्खला फागुन ७ गतेबाट गर्न लागिएको आयोजक हरमटारी क्लवले जनाएको छ । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलनमा सो क्लवले सातौँ गोर्खाली रनिङ कप २०७९ हुने जानकारी गराएको हो ।
फागुन ७ गतेदेखि १४ गतेसम्म हुने गोर्खाली रनिङ कपमा राष्ट्रिय स्तरका विभिन्न क्लवका साथै गोरखाका स्थानीय क्लबहरु गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्ने क्लवका महासचिव किरण ढकालले बताए । जिल्लाभित्र सक्षम तथा स्तरीय खेलाडी तयार गरी बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न गोर्खाली रनिङ कपलाई निरन्तरता दिएको उनले बताए ।
हरमटारीस्थित खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता संचालनका लागि २५ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार २२२ रुपैया र उपविजेता नगद एक लाख ११ हजार १११ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष जिबन गुरुङले जानकारी दिए । त्यस्तै, सेमिफाइनलिष्ट हुने दुई टिमले क्रमश ५०÷५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई रु ७ हजार ५ सयका दरले नगद पुरस्कार सहितसम्मान गरिने उनले बताए ।
त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्याद अफ द म्याच घोषित गरी नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
गोर्खाली रनिङ प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता गर्न प्रत्येक टिमले २५ हजार शुल्क बुझाउनेपर्ने छ ।
प्रतियोगिताको उद्घाटनका दिनमा महिला समूहलाई पनि समावेश गर्ने आयोजकले योजना बताएको छ । जिल्लाभित्रबाट कम्तिमा एउटा महिला टिम निर्माण गर्ने र जिल्लाबाहिरबाट अर्को टिम भित्र्याएर मैत्रीपूर्ण खेल गर्ने तयारी गरिएको हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङले बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.