Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

loading views..

पोखरा। पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनि ७९ बर्षको थिए ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।

सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले दिवंगत आत्मालाई आशीर्वाद दिऊन् र शोक सन्तप्त परिवारलाई शक्ति प्रदान गरून्,” विज्ञप्तिमा भनिएको छ ।

उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ’एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिएका थिए । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे ।

मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए ।

उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरेका थिए । रासस

loading views..

arrow प्रतिक्रिया दिनुहोस्