Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कसलाई राम्रो भन्ने?

loading views..
Nepal Telcome

कसलाई राम्रो भन्ने?
सबै म छु राम्रो भन्छन्,कसलाई राम्रो भन्ने?
खोजिपसे जुम्रा लाग्छन् कसलाई हाम्रो भन्ने?

नक्कली प्वाँख जडिएका मान्छे जताततै।
सक्कलीको खोजी गर्दा भेटिँदैन कतै॥
आफूमात्र भुर्र उड्छन् तान्ने हुन्न कोही ।
पछि, कुरा बुझी मान्छे बस्छन् रोईरोई॥

नारी उद्धार केन्द्र खोल्छन्, लाग्छन् सदाचारी ।
इतिहास बुझ्दै जाँदा लाग्छन् बलात्कारी॥
यिनकै हातमा खेल्छन् सधैं कानुन, पत्रकार।
यसै गरी झ्याङ्गिदै छन् बाली मास्ने झार।

हिमालजस्तो ढाकाटोपी, दौरा, सुरुवाल।
उसलाई हेर्दा उर्लिहाल्छ देशभक्तिको छाल॥
सबैलाई फसाउँछ, उसको माया जाल।
भित्रभित्र उही पार्छ देशभित्र प्वाल॥

प्रजातन्त्र जप्छ, भुल्छ रक्सी, भुटुवामा।
उही पर्छ रातिराति पत्नी चुटुवामा ॥
वामपन्थी बन्छ अर्को छन् नौतले घर।
तलब नपाउँदा सेवक रुन्छ धरधर॥

मुखियाको छोरो हो ऊ हर्ताकर्ता उही।
सरकारी जमिन जति गर्छ दर्ता उही॥
उसकै जालभित्र पर्छन् गरिबका छोरी।
अचम्मै छ!आदर गर्छन् मान्छे हात जोरी॥

तस्करका लस्कर छन् गर्छन् तल, माथि।
नबुझेर जनताले ठान्छन् छोरा, नाति॥
शीर्ष स्थानमा पैसा बस्यो नक्कलीको खेल।
बढ्न थाल्यो, सक्कलीले पाउने भयो नेल॥

जहिलेसम्म मस्तिष्कमा चेतनाले छुन्न।
नराम्रो नै राम्रो बन्छ भेद कहिले हुन्न॥
जहिलेसम्म च्यातिंदैनन् नराम्राका खोल ।
तहिलेसम्म नेपालमा हुन्छ डामाडोल॥

   (गीति कविता)

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link