Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

शहीद लखन गाउँपालिकाको निर्देशनपछि बन्द भयाे त्रिशूली नदी थुनेर बाटो बनाउने काम

गाेरखा। गोरखाको शहीद लखन गाउँपालिकाले ठेकेदारलाई निर्देशन दिएपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम बन्द भएकाे छ।

ठेकेदार कम्पनी सिन्धुपाल्चोकको बलेफी-३ ठेगाना भएको त्रियुग निर्माण सेवाले यो गाउँपालिकाअन्तर्गत पर्ने त्रिशूली नदीको बगरको ढुंगा, बालुवा तार्न नदी नै थुनेर बाटो बनाइरहेको थियो। उसले आफूले ठेक्का पाएको ठाउँको नदीजन्य पदार्थ उत्खनन् गरेर चितवनतर्फ ल्याउनका लागि नदी नै बन्द गरेर बाटो बनाउँदै थियो।

नदीको बहाब नै परिवर्तन हुनेगरी बाटो बनाइएको भनी टीका टिप्पणी भएपछि गाउँपालिकाले आइतबार काम रोक्न निर्देशन दिएको हो।‘निर्माण सामग्री उत्खनन गरेर सप्लाईका लागि त्रिशूली नदीको बहाब अवरोध हुनेगरी बाटो निर्माण गर्न लागेको कार्य तत्काल रोक्न तथा उत्खनन्, संकलन तथा बिक्रीसम्बन्धी कार्य सम्झौताको अधिनमा रही गर्न कम्पनीलाई निर्देशन दिएका छौं,’ गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्रिशूली नदीमा भइरहेको कार्यको विषयमा सबैको चासो र चिन्ता देखिएपछि प्राविधिक टोलीसहितको थप स्थलगत अध्ययन गर्ने र सरोकारवालासँग आवश्यक छलफल गरी काम अघि बढाउने निष्कर्षमा गाउँपालिका पुगेको विज्ञप्तिमा उल्लेख छ।‘यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बाहव, सञ्चालित पेशा व्यवसाय जस्ता विषयमा प्रतिकूल प्रभाव पार्ने कुनै कार्य नगर्न, नगराउन तथा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न शहीद लखन गाउँपालिका प्रतिबद्ध छ,’ अध्यक्ष थापाले भनेका छन्।यहाँ चितवनतर्फको केही मिटरमात्रै छाडेर गोरखाको ठेवाटारबाट त्रिशूली नदीको बाँकी भागमा ढुंगा थुपारेर बाटो बनाइएको थियो।यसले नदीको बाहबलाई केही मिटरमा सीमित गरेको छ। ठेकेदारले अहिले साँघुरो क्षेत्रबाट बेगले पानी बगिरहेको ठाउँमा पुल बनाउने तयारी गरेको थियो।त्रिशूली नदीको यो क्षेत्र र्‍याफ्टिङका लागि चर्चित छ। धादिङको चरौंदी, हुग्दीदेखि चितवनको कुरिनटार, मुग्लिनहुँदै सिमलताल, गाइघाटसम्म र्‍याफ्टिङ सञ्चालन हुँदै आएको छ। दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक सहभागी हुने र्‍याफ्टिङ व्यवसायमा दुई सय जनाभन्दा बढीले रोजगारी पाएका छन्।

arrow प्रतिक्रिया दिनुहोस्