गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक कार्यक्रम अन्र्तगतको सार्वजनिक सुनवाई आज सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित धावामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले संघ र प्रदेश सरकारले बिनियोजन गरेका बजेटबाट सञ्चालित पूर्वाधार बिकास योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । उनिहरुले आयोजना निर्माणको काम सूरु गरेपछि अलपत्र हुने गरेको, स्थानीय सरकारले त्यसलाई अनुगमन गर्न नसकेको गुनासो गरेका हुन् । स्थानीयबासी सुरेन्द्र तामाङले सडक समस्याका कारण बर्खाका वडा नम्बर ४ धावाबाट एम्बुलेन्स समेत चल्न नसक्ने अबस्था हुदैँ आएको भन्दै तत्काल बाह्रै महिना सडक सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले किसानहरुले समयमा मल पाउन नसकेको, बाँदरको बिगबिगीका कारण कृषकहरु कृषि पेशाबाट नै बिस्थापित हुनुपर्ने अबस्थामा पुगेको भन्दै गाउँपालिकाको ध्यानकर्षण समेत गराउनुभयो । अर्का स्थानीयबासी सन्दिप सिंखडाले संघ र प्रदेश सरकारबाट बिनियोजित बजेटका कामहरुको प्रभावकारी अनुगमन हुन नसकेको बताउनुभयो । उहाँले काशिखोल लिफट्टिङ खानेपानी आयोजना निर्माणको काम ३ बर्ष अघि नै ७० प्रतिसत सम्पन्न भईसकेर पनि अलपत्र रहेको भन्दै गाउँपालिकाको ध्यानर्कषण गराउनुभयो । त्यस्तै अर्का स्थानीयबासी रुद्रबहादुर लामिछानेले वडा भित्र जथाभावी मदिरा सेवन गर्नेहरुको संख्या बढ्दै गएको र यसलै स्थानीय नागरिकहरुको स्वास्थ्यमा समस्या हुने गरेकाले मदिरा नियन्त्रणका लागि जोडदिनुभयो । कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउदै गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले सडक समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राथामिकताका आधारमा ३ वटा सडकलाई गाउँपालिकाको लाइफ लाइन सडकको रुपमा अघि बढाएको बताउनुभयो । उहाँले स्थानीय कृषकहरुले गर्ने उत्पादन व्यवसायिक नभई दिनचर्याका लागि मात्र हुने गरेकाले पनि स्थानीय उत्पादनलाई बजारीकरण गर्न समस्या भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले पालिका भित्र रोजगारी सृजनाका लागि सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको भन्दै सिप सिकेर आत्मानिर्भर बन्ने तर्फ लाग्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले नागरिकहरुले उठाएका सवाललाई गाउँपालिकाले गम्भीरता पूर्वक लिएर समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिद्युत, खानेपानी, सडक पूर्वाधारको बिकाससंगै शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्धिका लागि पनि गाउँपालिकाले जोडदिदै आएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले गाउँपालिकाले रासायनिक मलको अभाव परिपूर्तिका लागि आगामी बैशाखदेखि झोल मल उत्पादनका लागि कृषकहरुलाई तालिम दिने तयारी गरिरहेको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका भित्रका बिभिन्न वडाका गरि करिब १३० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
