गोरखा। गोरखामा २०औं सवालाख रोट महोत्सव यही बैशाख २२ देखि जेठ १ गतेसम्म हुने भएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १९ वर्ष देखि निरन्तर सवालाख रोट महोत्सव गर्दै आएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि सो महोत्सव हुने जानकारी दिएको हो । केन्द्रका संयोजक किशोरकुमार अकेलाले यस वर्ष पनि बैशाखी पुर्णिमाबाट रोट महोत्सव गर्न लागेको बताए ।
‘रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ’ उनले भने । उनका अनुसार सामान्यतया २५ देखि ३० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुनेछ । महोत्सव गर्न करिब २० देखि २५ लाख लाग्ने बताएको छ । लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईनछ । ११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध आयोजकले व्यवस्थापन गर्ने जानकारी दिएको छ ।
बैशाख २२ गते बाजागाजा सहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिर सम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकहरुबाट धार्मिक प्रवचन तथा भजनकिर्तन समेत हुने केन्द्रले जनाएको छ । महोत्सवमा स्थानीयको सहभागिता घट्दै गएको भन्दै आयोजक सिद्धाश्रम शक्ति केन्द्रले चिन्ता जनाएको छ ।
महोत्सवको पहिलो दिन केन्द्रको शक्तिचोकस्थित कार्यालयबाट गोरखनाथ गुफासम्म शोभायात्रा गरिनेछ । महोत्सवमा नेपालको विभिन्न जिल्लाबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् ।