Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

नयाँ आधारमा एमालेसँग एकताको प्रयास जारी छ : प्रम प्रचण्ड

काठमाण्डु। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। अहिले हामी त्यही प्रक्रियामा छौं। जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरू कम्युनिष्ट एकताको पक्षमा छैनन्। हामी अहिले पनि एकताकै पक्षमा छौं।’ उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताए।

प्रधानमन्त्री प्रचण्डले आफूहरू राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरूसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे। उनले भने, ‘कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि। नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार गर्‍यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ। हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं।’

उनले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरूले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताए। ‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ,’ उनले भने।

लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रूपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिष्टलाई आह्वान पनि गरे।

उनले अगाडि भने, ‘एकताबद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौं। अहिले हामी कम्युनिष्ट पार्टीहरू कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं। अहिले राष्ट्रको आवश्यकता, राष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पुँजीवादको विरुद्ध संघर्षको आवश्यकता महसुस गर्नेहरू सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ।’ उनले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गरे।

arrow प्रतिक्रिया दिनुहोस्