Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

श्रमिक आन्दोलन नेतृत्वका कारण भन्दा पनि राजनीति अस्थिरताका कारण कमजोर :मजदुर नेता जगत सिम्खडा

loading views..

काठमाण्डु। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले आफ्नो पार्टी सरकारमा भए पनि नभए पनि श्रमिकको मुद्दा र एजेन्डालाई जोडदार ढंगले उठाउँदै आएको दाबी गरेका छन् ।
‘जति धेरै सामाजिक सुरक्षा, त्यति धेरै श्रम लचकता हुने हो । सामाजिक सुरक्षा ऐन र श्रम ऐन आए पनि कार्यान्वयन नभएको स्थिति छ । भए पनि स्लो भएकाले श्रम बजार अस्तव्यवस्त छ । तीन वर्षदेखि वेतनवृद्धि भएको छैन । पार्टी सरकारमा भए पनि नभए पनि हामीले मजदुर मुद्दा समान ढंगले उठाउने कुरामा दुबिधा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
मजदुर नेता सिम्खडाले नीति निर्माण तहमा मजदुरको प्रतिनिधित्व, ठेकेदारी प्रथाका कारण सिर्जित समस्या अन्त्यका लागि आफूहरु लागिरहेको पनि बताए । उनले श्रमिक आन्दोलन नेतृत्वका कारण भन्दा पनि राजनीति अस्थिरताका कारण कमजोर भएको औंल्याए । उनले थपे, ‘मजदुरका मुद्दा कसले उठायो, हरेक प्रतिष्ठान र असंगठित क्षेत्रका श्रमिकलाई थाहा छ । मजदुरहरुलाई हिजोभन्दा आज केही न केही सहज भएको छ । तर छिटोछिटो सरकार फेरिने र मजदुरका काम नगर्ने समस्या छ ।’
राजनीतिक पार्टीहरुले श्रमिकलाई भोट बैंकका रुपमा मात्र उपयोग गरेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेटमा श्रमिकका समस्यालाई समेट्ने विश्वास पनि उनले व्यक्त गरे ।
अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन आजै प्रज्ञाभवन कमलादीमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दैछन् । १३४ वर्षअघि सन् १९८६ मे १ मा अमेरिकाको सिकागो सहरमा आठ घण्टा कार्यदिन, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर ५ लाख श्रमिकले प्रदर्शन गरेको सम्झनामा अन्तर्राष्ट्रिय श्रम दिवस मनाइँदै आएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्