काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राजिनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजिनामा दिएका हुन् ।
कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ ।
गत भदौ पहिलो साता पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि बैंकको अध्यक्ष पद खाली भएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकका अध्यक्षका कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।
उपप्रधानमन्त्री पोखरेलका सम्धी रहेको र नेकपाका उच्च तहका नेतासँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटकपटक नियुक्ति सरकारी नियुक्ति पाउने गरेका छन् । यही कारण पछिल्लो नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा कोइराला र उपप्रधानमन्त्री पोखरेलको चर्को विरोध भएको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.