पोखरा। संसदमा मर्यादाको सन्दर्भ महत्त्वपूर्ण मानिन्छ । त्यसैले, संसद्का कुनै पनि सदस्यले अमर्यादित शब्द मात्रै प्रयोग गरे पनि संसद्को रेकर्डबाटै हटाउने व्यवस्था गरिएको हुन्छ ।
सोमबार भने मर्यादित संसद्लाई अमर्यादित बनाउने हर्कत भयो । त्यसको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले गरे । एमाले सांसदको अमर्यादित र दादागिरी गतिविधिमा एमालेबाट सभामुख बनेका देवराज घिमिरेले साथ दिए ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे जवाफ दिने कार्यसूची तय भएको थियो । यो कार्यसूची पनि एमालेकै माग अनुरूप तय भएको हो ।
कार्यसूची अनुरूप प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे जवाफ दिए । त्यसपछि सभामुख घिमिरेले थप प्रश्नका लागि फ्लोर ओपन गरे । यस क्रममा नाम टिपाएर धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्नहरू गरेका थियो ।
सांसदहरूको प्रश्नपछि सभामुखले प्रधानमन्त्रीलाई पुनः जवाफका लागि समय उपलब्ध गराएर । त्यसपछि प्रधानमन्त्री पुनः जवाफ दिन राेस्टम पुगे । पहिलो जवाफका क्रममा निक्कै आक्रामक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री दोस्रो जवाफमा भने निक्कै नरम शैलीमा प्रस्तुत भए ।
प्रधानमन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला एमाले सांसद सूर्य थापा अचानक आफ्नो आसनबाट उठेर बोल्न थाले । थापा बोल्न थालेपछि एमाले अध्यक्ष ओलीसहितका अन्य सांसद पनि आसनबाट उठेका थिए ।
यस्तो अवस्थामा सभामुखले संसदीय अभ्यासलाई सभ्य र व्यवस्थित बनाउन अन्य सदस्यलाई आफ्नो आसनमा बस्न आग्रह गर्नुपर्ने हुन्छ । र, बारम्बार प्रयास गरेरै भए पनि उनीहरूलाई आसनमा बसाउनुपर्ने हुन्छ । तर, प्रधानमन्त्रीले बोलिरहेकै बेलामा सभामुख घिमिरेले एमाले सांसद थापालाई बोल्न समय दिए ।
प्रधानमन्त्री जवाफका लागि रोस्टममै उभिएका थिए । प्रधानमन्त्रीलाई रोस्टममा उभ्याएर सभामुखले थापालाई मात्र बोल्न दिएनन् । एमालेका अर्का सांसद रघुजी पन्तलाई पनि बोल्न समय दिए । त्यति मात्र होइन, सभामुख घिमिरेले प्रधानमन्त्रीलाई उभ्याएर सत्तापक्षका सांसद विश्वप्रकाश शर्मा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई पनि बोल्न लगाए । प्रधानमन्त्री भने रोस्टममै उभिरहेका थिए ।
प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, मन्त्री वा कुनै सदस्दयले बोलिरहेको बेला नियमापत्ति बाहेकको अवस्थामा कसैले उठेर प्रतिप्रश्न गर्नु वा बैठक सञ्चालनमा अवरोध पुर्याउनु संसदीय मर्यादा मानिन्न । तर, सभामुख घिमिरेले प्रधानमन्त्रीलाई रोस्टममा उभ्याएर आफ्ना पार्टीका र अन्य सांसदलाई बोल्न दिएका हुन् ।
प्रधानमन्त्री बोलिरहेकै बेला सभामुखबाट समय पाएर बोलेकाहरू मध्ये विश्वप्रकाश बाहेक अरू कसैको पनि भाषा शैली र प्रस्तुति मर्यादित थिएन । रघुजी पन्त र सूर्य थापाले चर्को र आक्रामक शैलीमा आशनबाटै प्रधानमन्त्रीलाई धम्क्याइरहेका थिए ।
पन्त र थापा हप्कीदप्की शैलीमा बोले पनि विश्वप्रकाश भने शालीन शैलीमा प्रस्तुत भए । उनले विधेयक लगायतका विषयमा कानुनी प्रावधानहरू पढेरै सुनाए । त्यसपछि भने माहौल शान्त भयो । र, करिब आधा घण्टा रोस्टममा उभिएका प्रधानमन्त्री प्रचण्डले बाँकी जवाफ दिएका थिए ।
सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बिचमै रोकेर अन्य सदस्यलाई बोल्न मात्र दिएनन् । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रमुख प्रतिपक्षी दलका अध्यक्षलाई बोल्ने समय समेत दिएका छन् । जुन प्रतिनिधिसभा नियमावली विपरीत हो ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५ को उपनियम १ अनुसार प्रस्ताव प्रस्तुतकर्ता सदस्यले उत्तर दिइसकेपछि छलफल समाप्त हुन्छ । यो व्यवस्थाअनुसार प्रधानमन्त्रीले जवाफ दिइसकेपछि जवाफसम्बन्धी छलफल समाप्त भएको हो । तर, प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेपछि सभामुख घिमिरेले नियम विपरीत प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई बोल्न समय दिए ।
प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिएर सभामुख घिमिरेले आफ्नो राजनीतिक आस्था संसदमा प्रस्तुत गरेको आरोप लागेको छ । आजको संसद् बैठकमा सभामुखको भूमिकालाई लिएर संसद्को मर्यादा र निष्पक्षतामा प्रश्न उठेको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.