Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न यो मोर्चा स्थापना भएको हो:प्रधानमन्त्री प्रचण्ड

loading views..

पोखरा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् ।समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गरे ।

प्रचण्डले भने, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे ।प्रधानमन्त्रीले भने, “यो नै वैज्ञानिक मार्ग हो, परिवर्तनकारी मार्ग हो ।” मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख गर्दै उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताए । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

नेकपा घोषणाको स्मरण गर्दै उनले भने, “राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा गरेका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्‍यौँ, ऐतिहासिक समीक्षा गरौँ ।”समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उनले बताए । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उनले स्पष्ट पारे । “फेरि एक पटक इतिहासबाट फर्केर हेरौँ । हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु । यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो”, प्रधानमन्त्री प्रचण्डले भने ।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उनको भनाइ छ । अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्