मुख्य मन्त्री राईसहित आठलाई तीन महिना पार्टीबाट निलम्बन

मुख्य मन्त्री राईसहित आठलाई तीन महिना पार्टीबाट निलम्बन

  • मंगलबार, पौस २८ २०७७

विराटनगर। नेकपाको प्रचण्ड –नेपाल पक्षले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसहित केपी ओली समूहका ८ जनालाई सांसद पदबाट निलम्बन गरेको छ ।

संसदीय दलको सोमबारको बैठकले राईसहित ८ जनालाई कारबाही गरेको हो । सो समूहका संसदीय दलका नेता भीम आचार्यको अध्यक्षतामा बसेको दल बैठकले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई सांसदबाट तीन महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।

निलम्बनसम्बन्धी पत्र प्रदेश संसद सचिवालयमा समेत दर्ता गरिएको छ । कारबाही गरिएकाहरुमाथि दलको बैठकमा सहभागी नभएको तथा पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । प्रदेशसभामा दर्ता भएको पत्रबारे अध्ययन गरी निर्णय हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विकटन गरेलगत्तै प्रचण्ड–नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । त्यसलगत्तै राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई निलम्बनको निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.