पोखरा,२४साउन। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदो भदौ १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् । उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए। यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उनले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाको जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा हामी वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, सङ्गठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौँ । यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ ।’
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्ध रहेको बताए । सुन प्रकरणको ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सीआईबीलाई जिम्मेवारी दिइएको उनको भनाइ छ । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनको दाबी छ ।
प्रवक्ता सापकोटाले नागरिक महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए । उनले बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । नागरिकले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आउँदो पदाधिकारी बैठकमा आफूले कुरा उठाउने उनको भनाइ छ ।
सापकोटाले युवाहरू विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरू नै विदेशिएका बताए । युवाहरू विदेशिनु खतराको विषय भएको भन्दै उनले यो विषयलाई राष्ट्रले प्राथमिक एजेन्डा बनाउनुपर्ने बताए ।