Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

उत्तरी गोरखाको खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा

गोरखा। उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा परेको छ । पहिराका कारण बस्ती भएको जमिन चिराचिरा परेपछि घरहरु उच्च जोखिममा परेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । पहिराले बस्ती माथिका जमिन चिरिएको र बस्ती मुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पुरै जोखिममा परेको उहाँको भनाई छ ।
‘गोरखा भुकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको थियोे, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘केहीदिन अघि परेको निरन्तरको बर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ ।’ बर्षाले जमिन भासिँदै गएपछि अधिकांस घरको भित्रि भाग चिरा परेको छ । ‘घरको जग समेत तलतल सर्दै गएको छ, उहाँले भन्नुभयो,‘ घर भित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागि समेत डरमर्दो अबस्था बनेको छ ।’
पहिराका जोखिम बढेपछि पिडित परिवारहरु घरमा बस्न सक्ने अबस्था समेत नरहेको उहाँले बताउनुभयो । ‘जुन घर भित्र पसेपनि अत्यास लाग्ने अबस्था छ, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘रातबस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता यहाँको बासिन्दाको रहेको छ ।’ पहिराको त्रासले स्थानीयबासीहरु साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर छिमेकी र आफन्तकोमा सुरक्षित बास बस्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
त्यसबाहेक केही परिवार विद्यालयमा नै बास बस्न समेत जाने गरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।‘समस्या परेका परिवारहरु मध्ये ३ परिवार बृद्धा एकल महिला पनि रहनुभएको छ, उहाँले भन्नुभयो, ‘उहाँहरुलाई त समस्या परिहाल्यो भने भाग्न सक्ने अबस्थाको पनि हुनुहुन्न, पहिरोको पीरले अत्यासमा दिन कटाई रहनु भएको छ ।’

बस्ती अत्यन्तै जोखिमपूर्ण रहेकाले घरहरु खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह समेत गरेको छ । पहिरोले खानीगाउँका ३२ घरघुरीका १ सय ५ जना प्रभावित भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

arrow प्रतिक्रिया दिनुहोस्