टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफर एकै नम्बरबाट

टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफर एकै नम्बरबाट

काठमाण्डु। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।
नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्सी इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ ।
आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । कम्पनीहरूले आफ्ना पूर्ववतः यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ ।

कसरी प्रयोग गर्ने एकै प्रकारका नयाँ यूएसएसडी कोड ?
१. ब्यालेन्स रिचार्ज गर्न १२२
यदि तपाईं रिचार्ज कार्ड खरिद गरी पिन नम्बर राखेर मोबाइल रिचार्ज गर्नु हुन्छ भने एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा यो यूएसएसडी कोड प्रयोग गर्न सक्नु हुन्छ । जसका लागि *१२२*रिचार्ज पिन नम्बर# राखी डायल गर्नुपर्ने हुन्छ ।
यसअघिदेखि ब्यालेन्स रिचार्ज गर्न टेलिकममा *४१२*रिचार्ज पिन नम्बर# र एनसेलमा *१०२*रिचार्ज पिन नम्बर# डायल गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ ।
२. ब्यालेन्स ट्रान्सफरका लागि १३३
ब्यालेन्स ट्रान्सफरका लागि समेत दुवै कम्पनीको नेटवर्कमा एउटै १३३ नम्बरको यूएसएसडी प्रयोग गर्न सकिन्छ । यद्यपि ब्यालेन्स ट्रान्सफर गर्ने दुवै कम्पनीको तरिका भने केही फरक छ ।
नेपाल टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ ।
तर एनसेलमा भने यो यूएसएसडी को प्रयोग गरी ब्यालेन्स ट्रान्सफर गर्न *१३३*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम# डायल गर्नुपर्ने हुन्छ ।

यसअघिको व्यवस्था अनुसार नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर गर्न *४२२*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफरको गन्तव्य मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको ब्यालेन्स# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईं टेलिकमको आफ्नो सेक्युरिटी कोड थाहा छैन भने मेसेज बक्समा SCODE टाइप गरी १४१५ मा पठाउन सक्नु हुन्छ ।
एनसेलमा भने ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको गन्तव्य मोबाइल नम्बर# डायल गर्नुपर्ने हुन्छ । यसका लागि सेक्युरिटी कोड आवश्यक पर्दैन ।
३. ब्यालेन्स जाँचमा १४४
दुवै नेटवर्कमा एउटै यूएसएसडी नम्बरबाट ब्यालेन्स इन्क्वाइरी अर्थात चेकजाँच गर्न पनि सकिन्छ । यसका लागि एनसेल र नेपाल टेलिकम दुवैका लागि *१४४# डायल गरे पुग्छ । यसअघिको व्यवस्था अनुसार एनसेलमा ब्यालेन्स चेक गर्न *१०१# अथवा *९०१# र टेलिकममा *४००# डायल गर्नुपर्ने हुन्छ ।
कार्यविधि अनुसार यसअघि सेवा प्रदायकले आआफ्नै किसिमले प्रयोगमा ल्याएका यूएसएसडी कोड एक वर्षपछि बन्द गरी अब यी एकै किसिमका यूएसएसडी कोड मात्रै प्रयोगमा ल्याउनु पर्नेछ ।(टेकपानाबाट)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.