Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

प्रचण्डका कुनै बेलाका हेडसर रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

loading views..

काठमाण्डु। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव भएर अवकाश भएका थिए ।

श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा मन्त्री थिए । उनले पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।१५ फागुन २०७८ मा अख्तियारले श्रेष्ठलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

अख्तियारका अनुसार, २०२६ सालदेखि सरकारी सेवामा पुगेका उनले २०६४ माघमा अवकाश पाएका थिए । २०७० सालमा उनी फेरि चुनावी मन्त्रिपरिषदको मन्त्री बनी सरकारी पदमा आए ।
सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैंया सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।
अख्तियारले उनको बैंकमा रहेको ६८ लाख ५० हजार, घर जग्गा लगायतको सम्पत्ति जफत हुनुपर्ने माग दावी गरेको थियो ।
उनी तत्कालीन माओवादीको कोटाबाट रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री भएका थिए । उनी गोरखाको आरुघाटमा स्कुल पढाउँदा प्रचण्डका हेडसर रहेको कारण माओवादीसँग निकट भएर मन्त्री बन्न सफल भएको माओवादी नेताहरू बताउँछन्

loading views..

arrow प्रतिक्रिया दिनुहोस्