वीरगञ्ज। जितिया पर्व बिहीवारदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ ।नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै बिहीवारदेखि शुरु भएको हो ।
व्रत बस्नु अघि महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ ।
देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ ।यसैबीच जितिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा शुक्रवार बिदा दिइएको छ ।वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सूचना जारी गरेर जितिया पर्वको अवसरमा शुक्रबार महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा शुक्रवारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ ।तराई मधेसमा मनाइने जितिया यस क्षेत्रका महिलाहरुको महान पर्वको रुपमा रहेको छ ।