गोरखा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गर्नुभएको छ । बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र जोड्ने मुख्यसडकको रुपमा रहेको उक्तसडक निर्माणको मन्त्री जुग्जालीले आज अवलोकन गर्नुहुदैँ सडक निर्माणमा भइरहेको ढिलासुस्ती प्रति असन्तुष्टी व्यक्त गर्नुभएको हो ।मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई घ्याम्पेसाल–ताकुकोट सडकखण्डको काम छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । उहाँले पटक पटकको म्याद थपका बाबजुद काम सम्पन्न हुन नसकेको भन्दै असन्तुष्टी समेत पोख्नुभयो । मन्त्री जुग्जालीले नजिकिदो चाडपर्व लक्षित गरी आवागमन सहज गराउन र चाडपर्व पश्चात तिव्र गतिमा काम हुने गरी तयारी गर्न निर्माण व्यावसायी र पूर्वाधार कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ ।
निर्माणाधिन सडकको अवलोकनपछि आयोजित छलफल कार्यक्रमा उहाँले ठेकेदार कम्पनीलाई काम तिव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । ठेकेदारको चरम लापरवाहीले सडक निर्माण ढिलाइ हुदाँ जनताले सास्ती खेप्नु परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला गाउँपालिकामा कार्यालयमा मन्त्री जुग्जाली सहित गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय, ठेकेदार कम्पनीका प्रतिनिधि बिच छलफल भएको हो ।छलफलमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडकखण्डको निर्माणमा ढिलाइले गर्दा गाउँपालिकावासी हैरान भएको जानकारी गराउनुभयो । उहाँले बारपाक –लाप्राक, उल्टे–मसार–ताकुकोट सडकखण्डको निर्माणमा समेत ढिलाई भइरहेको भन्दै छिटो निर्माणका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।