काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेकै दिन प्रधानमन्त्री ओली ‘सिद्धिएको’ बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रचण्डले भने, ‘ओलीजी अब तपाईं सिद्धिनुभयो। सार्वभौमिक जनाताको विरुद्ध तरबार उठाएर तपाईंले बाजी हारी सक्नुभयो। अब तपाईंको हातमा केही छैन। र, तपाईंको समय पनि धेरै छैन। ’
‘हामी हिटलर र गोर्वाचोभको पनि कुरा गर्छौं, उनीहरू कुपात्रका रुपमा चिनिन्छिन्,’ उनले भने, ‘हिटलर र गोर्वाचोभ झैँ ओली पनि इतिहासमा कुपात्रको रुपमा चिनिने निश्चित छ। उहाँको अन्त्य भइसकेको छ। थोरै समयमात्र बाँकी छ। हेर्नुहोला।’ प्रचण्डले प्रधानमन्त्री ओलीले लडाइँ हारेको बताए। उनले अहिलेको प्रतिनिधिसभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे। ‘पार्टीको विवाद पार्टीकै विधानबाट हल गर्ने हो, संसद विघटन गर्ने होइन,’ उनले भने।
उनले ओलीले फेरि देशलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात गरेको आरोपसमेत लगाए। प्रचण्डले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिसमा राजाकै भाषा गन्हाएको बताए। ‘यो राजतन्त्र पुनर्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ। यसलाई हर मूल्यमा रोक्नु पर्छ,’ उनले भने, ‘केपी ओलीले गरेको संसद विघटनको सिफारिसमा राजाकै भाषा ह्वास्सै गन्हाएको छ। केपी ओलीको भाषामा राजा महाराजाकै दुर्गन्ध आउँछ।’
उनले आफैंले प्रधानमन्त्री बनाएको पार्टीकै मान्छेले आफैंले जन्माएको बच्चाको हत्या गर्न लागेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको बताए। ‘बाघले पनि कसैले आफ्नो बच्चालाई आक्रमण गर्न लाग्दा गर्जिन्छ। नेपाली जनता पनि गर्जिनुपर्छ भनेको हुँ। मैले हिंसाको लागि गर्जिनुपर्छ भनेको होइन। हामीले शान्ति र लोकतन्त्रका लागि समझदारी गरिसकेका छौँ,’ प्रचण्डले भने, ‘तर, निरंकुशतातर्फ देशलाई धकेल्ने दुष्कर्म कसैले गर्छ भने जुनसुकै मूल्य चुकाएर पनि पनि त्यसलाई रोक्ने दायित्व जनताको हो।’
ओलीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाल लगायत नेताहरूसँग आइपुगेको उनले बताए। ‘जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।’ उनले आफू भावुक भए पनि कठोर पनि हुन सक्ने बताए। ‘मैले जनयुद्धको नेतृत्व गरेको हो। कठोर हुन सक्छु। तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु,’ प्रचण्डले भने।
प्रचण्डले आफूलाई लाग्ने गरेको एमालेभित्र खेलेको भन्ने आरोपको पनि प्रतिवाद गरे। ‘मैले पूर्व एमालेमा मैले खेल्यो भन्नुहुन्छ उहाँ। तर पार्टीको नेतृत्व गरिसकेका, प्रधानमन्त्री समेत भइसकेका र देशको राजनीतिमा स्थापित व्यक्तित्वलाई तपाईंले फकाउन नसक्ने र विश्वासमा लिन नसक्ने तर भर्खरै एकता गरेको प्रचण्डले विश्वासमा लिन सक्ने कसरी भयो केपी ओलीजी ?,’ उनले भने।
‘सचिवालयमा पूर्वएमालेको अत्यधिक बहुमत छ। तर पूर्वएमालेलाई विश्वासमा लिन नसक्ने आफ्नो अनुहार किन ऐनामा हेर्नुहुन्न ? स्थायी कमिटीमा पनि स्थिति त्यही हो। तर त्यहाँको दुई तिहाइ बहुमतले बरु प्रचण्ड नै ठीक भन्ने स्थिति बनाएको प्रचण्डले कि केपीले‚’ प्रचण्डले प्रश्न गरे‚ ‘मेरो प्रश्न छ उहाँलाई- केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य माधव र प्रचण्डसँग हुने स्थिति प्रचण्डले बनाएको हो कि केपीले ? ओलीको निरंकुश प्रवृत्तिका कारण, दम्भ र अहंकारको कारणले यो स्थिति आएको होइन ?’
केपी र उनी नजिकका मानिसले अदालतका साथै निर्वाचन आयोगलाई धम्काउने काम गरिरहेको उनको दाबी थियो। आफूहरूलाई भरोसा रहेपनि बाहिर सुनिएजस्तो अदालत र निर्वाचन आयोग कसैको प्रभावमा पर्न नहुने प्रचण्डले बताए। ‘हामीलाई अदालत र निर्वाचन आयोगमाथि भरोसा छ। कानुनअनुसार नै निर्णय आउँछ,’ उनले भने, ‘तर बाहिर केपीका मानिसहरू सेटिङका कुरा गर्दै हिँडेका छन्। के हो यो ? केपीजीलाई म सोध्न चाहन्छु।’