Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

मूल्य कम भएका कम्पनि छान्दै लगानीकर्ता

loading views..
Nepal Telcome

काठमाडौं। आइतबार देखिएको द्विविधा कम भएपछि सोमबार सेयर बजार पुनः पुरानै लयमा फर्किएको छ । हरेक कारोबारको क्रममा २५ प्रतिशत अग्रिम दिन कडाइ गरिएको खबरले घटेको बजार आइतबार साँझ धितोपत्र बोर्डको विज्ञप्ति आएपछि सुधारिएको छ । बोर्डले नगद मात्रै नभई चेकबाट समेत भुक्तानी गर्न सक्ने भन्दै लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेको थियो ।

बोर्ड लचिलो भएको बुझाइ लगानीकर्तामा परेपछि बजारमा सुधार देखिएको हो । सोमबार नेप्से परिसूचक ३५ अंकले बढेर २ हजार ४ सय बिन्दु पार गरेको छ । यस दिन कारोबारमा आएका २ सय ३ धितोपत्र र ऋणपत्रमध्ये १ सय ४२ को मूल्य बढेको र ४३ वटाको मूल्य घटेको छ । १ सय २ वटाको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम छ ।

३ सय नपुगेका र हाराहारी रहेका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन ९ देखि १० प्रतिशतसम्म मूल्य बढ्ने १० कम्पनीमा ८ कम्पनीको मूल्य यही दरमा छ । यसरी मूल्य बढ्ने सस्ता कम्पनीहरूमा सेन्चुरी कमर्सियल बैंक, पोखरा फाइनान्स, सोल्टी होटेल, तारागाउँ रिजेन्सी (हायात होटेल), बेस्ट फाइनान्स, सिन्धु विकास बैंक, सेन्ट्रल फाइनान्सलगायत रहेका छन् ।

वाणिज्य बैंक समूहमा सेन्चुरी बैंक बजार मूल्य सबैभन्दा कम हुनेमा दोस्रो स्थानमा छ । बैंकको सेयर १० प्रतिशत बढेर २ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार रकमका आधारमा समेत बैंक यस दिन चौथो स्थानमा छ । बैंकमा २६ करोड ९८ लाख रुपैयाँ लगानी भएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको तेस्रो त्रैमासबाट नाफामा देखिएको प्रोगेसिभ फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँ नाफा कमाएको छ । वित्तीय अवस्थामा सुधार देखिन थालेपछि मूल्य बढ्ने प्रयासमा देखिएको हो । कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएर १ सय ६५ रुपैयाँमा सेयर खरिद–बिक्री भइरहेको हो ।

दोस्रो त्रैमासमा ७० प्रतिशतले नाफा वृद्धि भएको पोखरा फाइनान्समा समेत लगानीकर्ता तानिएका छन् । कम्पनीको सेयर मूल्य २ सय ७६ रुपैयाँमा कारोबार भएको हो । कारोबारमा आएका लघुवित्त र सामूहिक लगानी कोष समूहगत परिसूचक भने घटेको छ । अन्य सबै समूहगत परिसूचकमा सुधार देखिएको छ । आइतबार ३२ खर्बबाट घटेको लगानीकर्ताको कुल सम्पत्तिको मूल्य पुनः वृद्धि भएर ३२ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link