मूल्य कम भएका कम्पनि छान्दै लगानीकर्ता

मूल्य कम भएका कम्पनि छान्दै लगानीकर्ता

  • मंगलबार, माघ २० २०७७

काठमाडौं। आइतबार देखिएको द्विविधा कम भएपछि सोमबार सेयर बजार पुनः पुरानै लयमा फर्किएको छ । हरेक कारोबारको क्रममा २५ प्रतिशत अग्रिम दिन कडाइ गरिएको खबरले घटेको बजार आइतबार साँझ धितोपत्र बोर्डको विज्ञप्ति आएपछि सुधारिएको छ । बोर्डले नगद मात्रै नभई चेकबाट समेत भुक्तानी गर्न सक्ने भन्दै लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेको थियो ।

बोर्ड लचिलो भएको बुझाइ लगानीकर्तामा परेपछि बजारमा सुधार देखिएको हो । सोमबार नेप्से परिसूचक ३५ अंकले बढेर २ हजार ४ सय बिन्दु पार गरेको छ । यस दिन कारोबारमा आएका २ सय ३ धितोपत्र र ऋणपत्रमध्ये १ सय ४२ को मूल्य बढेको र ४३ वटाको मूल्य घटेको छ । १ सय २ वटाको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम छ ।

३ सय नपुगेका र हाराहारी रहेका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन ९ देखि १० प्रतिशतसम्म मूल्य बढ्ने १० कम्पनीमा ८ कम्पनीको मूल्य यही दरमा छ । यसरी मूल्य बढ्ने सस्ता कम्पनीहरूमा सेन्चुरी कमर्सियल बैंक, पोखरा फाइनान्स, सोल्टी होटेल, तारागाउँ रिजेन्सी (हायात होटेल), बेस्ट फाइनान्स, सिन्धु विकास बैंक, सेन्ट्रल फाइनान्सलगायत रहेका छन् ।

वाणिज्य बैंक समूहमा सेन्चुरी बैंक बजार मूल्य सबैभन्दा कम हुनेमा दोस्रो स्थानमा छ । बैंकको सेयर १० प्रतिशत बढेर २ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार रकमका आधारमा समेत बैंक यस दिन चौथो स्थानमा छ । बैंकमा २६ करोड ९८ लाख रुपैयाँ लगानी भएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको तेस्रो त्रैमासबाट नाफामा देखिएको प्रोगेसिभ फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँ नाफा कमाएको छ । वित्तीय अवस्थामा सुधार देखिन थालेपछि मूल्य बढ्ने प्रयासमा देखिएको हो । कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएर १ सय ६५ रुपैयाँमा सेयर खरिद–बिक्री भइरहेको हो ।

दोस्रो त्रैमासमा ७० प्रतिशतले नाफा वृद्धि भएको पोखरा फाइनान्समा समेत लगानीकर्ता तानिएका छन् । कम्पनीको सेयर मूल्य २ सय ७६ रुपैयाँमा कारोबार भएको हो । कारोबारमा आएका लघुवित्त र सामूहिक लगानी कोष समूहगत परिसूचक भने घटेको छ । अन्य सबै समूहगत परिसूचकमा सुधार देखिएको छ । आइतबार ३२ खर्बबाट घटेको लगानीकर्ताको कुल सम्पत्तिको मूल्य पुनः वृद्धि भएर ३२ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.