Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

राष्ट्रिय शिक्षा दिवस: देशभरिका कुन कुन विद्यालय भए उत्कृष्ट ?

काठमाडौं,३असोज। राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोरोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमश: ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइएको थियो ।

उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो। मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले बताउनु भयो। विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ । क्याम्पसले साढे दुई लाख नगद पुरस्कार प्राप्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्न्तगतको उक्त क्याम्पसले पनि साढे २ लाख नै पुरस्कार पाएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीमोड राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ ।

प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । ती कलेजहरूले १/१ लाख पुरस्कार पाएका छन् । दुई लाखको समाज कल्याण पुरस्कार श्री युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा काठमाडौं र श्री सि. आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सडक बालबालिका, एचआईभी एड्सका संक्रमित, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्दै आएकोमा ती संस्थालाई नगद २/२ लाखसहित पुरस्कृत गरिएको हो ।

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पूर्‍याएका त्रिभुवन विश्वविद्यालय, संस्कृत, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयका २५ जना अध्यापक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । प्राविधिक शिक्षालयका ५ जना प्रशिक्षक कर्मचारी पनि पुरस्कृत भएको शिक्षा मन्त्रालयले जनाएको छ । सामुदायिक र निजी विद्यालयका शिक्षकहरु पनि पुरस्कृत भएका छन् । विद्यालय कर्मचारी व्यवस्थापन समितिका पदाधिकारी, बालबिकासका सहजकर्ता शिक्षकलाई पनि पुरस्कृत गरिएको छ ।

यस वर्ष दिवसका अवसरमा नेपाल विद्याभूषण पदक क बाट २६४ जना, विद्याभूषण पदक ख बाट ३५ र ग बाट २१ जना विभूषित भएका मन्त्रालयले जनाएको छ । उनीहरूलाई पदक र प्रमाणपत्र भने पछि वितरण गरिने बताइएको छ । नेपाल छात्रापदकबाट १५ जना विभूति भएको शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले बताउनु भयो । विभिन्न तह र विषयका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई छात्रा पदक वितरण हुँदै आएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्