पोखरा । जेन–जेड आन्दोलनको क्रममा जलेर ध्वस्त भएको वडा प्रहरी कार्यालय बगरलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर–४ ले आवश्यक सामग्री सहयोग गरेको छ।
आइतबार आयोजित विशेष कार्यक्रममा क्लस्टर–४ का तर्फबाट प्रहरी कार्यालयलाई १ थान कम्प्युटर, १ थान प्रिन्टर र आवश्यक इलेक्ट्रिक उपकरणहरू हस्तान्तरण गरियो। सामग्रीहरू डिस्ट्रिक्ट ३२५ एमका गभर्नर धनीराम बरालले निर्माण समितिका संयोजक पुर्षोत्तम श्रेष्ठ र प्रहरी इन्चार्ज यमबहादुर कुवरलाई बुझाउनुभयो।
कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट लेडी विष्णु बराल, डिस्ट्रिक्ट को–अर्डिनेटर भानुभक्त अधिकारी, क्लस्टर प्रमुख कोपिला श्रीस, जोन चेयरपर्सन लक्ष्मी पाण्डे, क्लस्टर–४ अन्तर्गतका क्लब अध्यक्षहरू तथा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीको समेत उपस्थिति थियो।
लायन्स क्लब अफ पोखरा डाउनटाउनका अध्यक्ष ऋषि सुवेदीले यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाअन्तर्गत गरिएको जनाउँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।