Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

एकताको अन्तिम चरणमा प्रचण्ड-विप्लव

loading views..

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबिच सघन छलफल सुरु भएको छ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो । त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा विप्लवले नाम परिवर्तन गरी जनयुद्धकालीन नाम माओवादी राखेका थिए ।

तर, निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिस्ट पार्टीलाई घेराबन्दी गर्ने, कमजोर बनाउने र सखाप पार्ने हिसाबले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै यी दुई पार्टी फेरि नजिकिएको स्रोतले दाबी गरेको छ । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय अगाडि नै ‘ब्रेक थ्रु’ हुने गरी दुवै पार्टीका शीर्ष नेताहरू सक्रिय रहेको बुझिएको छ ।

‘नेकपा माओवादीसँग एकता, सहकार्य गर्ने विषयमा छलफल एकदम सकारात्मक रूपमा अगाडि बढेको छ । केही दिनदेखि हामी लगातार छलफलमै छौँ’, स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको छ । समय र वस्तुनिष्ठ आवश्यकताले पनि सबै वामपन्थी, समाजवादी र कम्युनिस्ट घटकहरू एक ठाउँमा आउनुपर्ने बाध्यता छ । केही दिनमै सकारात्मक परिणाम निस्कनेछ ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्