टोकियो । कास्की पोखरा समाज, जापानको आयोजनामा “प्रवासी भूमिमा राष्ट्रिय बहस” शीर्षकको बौद्धिक बहस कार्यक्रम जनवरी २५, २०२६ का दिन टोकियोको शिन्जुकुस्थित सागामी बिल्डिङ (5F) मा भव्य रूपमा सम्पन्न भएको छ।
प्रवासी भूमिमा बसेर पनि मातृभूमिको भविष्यप्रति गहिरो चिन्ता र जिम्मेवारी बोक्ने नेपालीहरूले नेपालको राजनीतिक अवस्थाबारे खुला र साहसी बहस गरेका थिए।
कार्यक्रमका विशेष वक्ता सौरभले स्पष्ट र आक्रामक शैलीमा भने,
“अब आउने नयाँ सरकारले केपी ओलीलाई जेल हाल्नेछ। सत्ताको दुरुपयोग, लोकतन्त्रको अपमान र राष्ट्रहित विपरीत गतिविधिमा संलग्नहरू कानुनी कठघरामा उभिनै पर्छ।”
उहाँले काङ्ग्रेसलगायत प्रमुख राजनीतिक दलहरूलाई पनि कडा सन्देश दिँदै भन्नुभयो,
“विदेशी शक्तिहरूको भरोसामा राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। राष्ट्रिय हितभन्दा बाह्य शक्तिलाई प्राथमिकता दिने राजनीति अब स्वीकार्य हुँदैन।”
कार्यक्रममा NRNA ICC का उपाध्यक्ष रोबिन सेरचन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले प्रवासी नेपालीहरू राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै राजनीतिक चेतना र राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा ठूलो संख्यामा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको राजनीति निर्णायक मोडमा पुगेको र जनताको पक्षमा दृढ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रम कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन समाजका महासचिव जीवन पोखरेल (कञ्चन) ले गर्नुभएको थियो।
कार्यक्रमका क्रममा समाजको गतिविधिमा निरन्तर सहयोग पुर्याउने सहयोगदाताहरूलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रमले प्रवासी नेपालीहरूबीच राष्ट्रिय चेतना, राजनीतिक साहस र परिवर्तनको चाहनालाई थप सशक्त बनाएको निष्कर्ष निकालिएको छ।




