गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएसँगै गोरखामा पत्रकारहरूलाई मतगणना स्थलमा निर्बाध रूपमा रिपोर्टिङ गर्न नदिइएको भन्दै असन्तुष्टि बढेको छ। सञ्चारकर्मीहरूले प्रमुख निर्वाचन अधिकृतको निर्देशनका कारण आफूहरूलाई मतगणना स्थलमा प्रवेश गरी समाचार सङ्कलन गर्न रोक लगाइएको आरोप लगाएका छन्।
गोरखाका वरिष्ठ पत्रकार कैलाशबाबु श्रेष्ठका अनुसार सुरक्षा व्यवस्थापनको नाममा प्रहरी प्रशासनले पत्रकारहरूलाई मतगणना स्थलभित्र प्रवेश गर्न नदिएको हो। प्रहरी प्रशासनले भने आफूहरूले माथिको आदेशअनुसार मात्रै व्यवस्था मिलाएको बताएको छ।
पत्रकारहरूका अनुसार मतगणना जस्तो सार्वजनिक महत्वको प्रक्रियामा सञ्चारकर्मीलाई अवरोध गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो। “मतगणना स्थलबाट प्रत्यक्ष सूचना लिन नपाउने अवस्था सिर्जना गरिएको छ, यो पूर्ण रूपमा अव्यावहारिक र गैरलोकतान्त्रिक हो,” एक स्थानीय पत्रकारले गुनासो गरे।
उता, पत्रकारहरूलाई अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ गोरखा शाखा भने अहिलेसम्म औपचारिक रूपमा मौन देखिएको छ। महासंघको यस मौनताप्रति स्थानीय सञ्चारकर्मीहरूमा थप असन्तुष्टि पैदा भएको छ।
पत्रकारहरूले पारदर्शिता, सूचना अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्दै मतगणना स्थलमा सञ्चारकर्मीलाई निर्बाध रूपमा रिपोर्टिङ गर्ने वातावरण तत्काल सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




