काठमाडौं, ११असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा रहेकी नेतृ टीका संग्रौलाले आफ्नो परिचित नाम ‘ज्वाला’ मतपत्रबाट हटाइएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। उनले यसलाई आफूविरुद्ध गरिएको नियोजित छेडखानी तथा षड्यन्त्रको संज्ञा दिएकी छन्।
पार्टीभित्र र सार्वजनिक रूपमा ‘ज्वाला संग्रौला’ नामबाट परिचित संग्रौलाले उम्मेदवारी दर्ता गर्दा ‘टीका संग्रौला (ज्वाला)’ उल्लेख गरेकी थिइन्। तर मतदानका क्रममा प्रयोग गरिएको मतपत्रमा भने ‘टीका संग्रौला’ मात्रै राखिएको पाइएको उनको भनाइ छ।
संग्रौलाका अनुसार मतपत्रमा परिचित नाम समावेश नगरिँदा धेरै प्रतिनिधिले आफूलाई चिन्न नसकेको र त्यसले मतदानमा प्रत्यक्ष असर पारेको छ। उनले प्रतिनिधिहरूले समेत मतपत्रमा ‘ज्वाला’ नाम नदेखेपछि आफूलाई मतदान गर्न नसकेको जानकारी दिएको दाबी गरेकी छन्।
“मलाई अधिकांशले ज्वाला भनेर चिन्नुहुन्छ। मतपत्रमा त्यो नाम नै हटाइएको रहेछ। पछि आफैं मतदान गर्न जाँदा मात्रै थाहा पाएँ। यो सामान्य त्रुटि होइन, योजनाबद्ध रूपमा गरिएको काम हो,” संग्रौलाले बताएकी छन्।
यस विषयमा उनले पार्टीको निर्वाचन आयोगमा मौखिक गुनासो गरे पनि ‘मतपत्रमा उपनाम प्रयोग गर्न नमिल्ने’ जवाफ पाएको बताएकी छन्। तर अन्य उम्मेदवारहरूको हकमा भने परिचित उपनाम प्रयोग गरिएको भन्दै उनले दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएकी छन्।
उनले रञ्जु न्यौपानेलाई ‘रञ्जु दर्शना’ तथा डिल्लीस्वर कार्कीलाई ‘रोहन कार्की’ नामबाट मतपत्रमा उल्लेख गरिएको उदाहरण दिँदै आफ्नो हकमा मात्रै फरक व्यवहार गरिएको दाबी गरेकी छन्।
घटनाप्रति असन्तुष्टि जनाउँदै संग्रौलाले पार्टीको निर्वाचन आयोगमा औपचारिक उजुरी दिने तयारी गरिरहेकी छन्। नेतृत्वसमक्ष विषय उठाउँदा निर्वाचन परिणाम आएपछि छलफल गर्ने जवाफ प्राप्त भएको भए पनि त्यसले आफूलाई सन्तुष्ट नबनाएको उनको भनाइ छ।
संग्रौलाले चुनावी हार–जितभन्दा पनि पार्टीभित्रै आफूविरुद्ध गरिएको व्यवहारले बढी दुःखी बनाएको बताएकी छन्। उक्त घटनाले रास्वपाको आन्तरिक निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।




