पोखरा, ३० असोज। नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तामाथि मनपरी मूल्य असुल्ने तथा ठगी गर्ने १४ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरेको छ। प्राधिकरणले स्वीकृत दररेटभन्दा बढी शुल्क लिई इन्टरनेट सेवा बिक्री गर्ने प्रमुख इन्टरनेट कम्पनीहरूलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
कारबाहीमा परेका प्रमुख कम्पनीहरू
कारबाही पर्ने कम्पनीहरूको सूचीमा नेपालका ठूला तथा नाम चलेका निजी इन्टरनेट सेवाप्रदायकहरू—वर्ल्डलिङ्क (WorldLink), क्लासिक टेक (Classic Tech), र भायानेट (Vianet) सहित १४ वटा कम्पनीहरू रहेका छन्। यी कम्पनीहरूले उपभोक्ताबाट तोकिएभन्दा बढी रकम असुल्ने गरेको पाइएपछि प्राधिकरणले यो कदम चालेको हो।
गुणस्तर र मूल्यमा उपभोक्ता झुक्याउने खेल निजी क्षेत्रका इन्टरनेट कम्पनीहरूले आकर्षक अफर र उच्च गतिको दाबी गरे पनि व्यवहारमा भने कमजोर गुणस्तर दिएर उपभोक्ता झुक्याउने र मनपरी अतिरिक्त शुल्क असुल्ने गुनासो लामो समयदेखि आइरहेको थियो। प्राधिकरणको पछिल्लो अनुसन्धानले स्वीकृत महसुलभन्दा बढी मूल्यमा इन्टरनेट बिक्री गर्ने सञ्जाललाई तोड्दै कडा जरिवाना गरेको हो।
पीडित ग्राहकले क्षतिपूर्ति पाउने, उजुरी गर्न आह्वान प्राधिकरणका अनुसार बढी शुल्क तिर्न बाध्य पारिएका पीडित ग्राहकहरूले क्षतिपूर्ति पाउने व्यवस्था गरिनेछ। साथै, कुनै पनि इन्टरनेट सेवाप्रदायक कम्पनीले स्वीकृत महसुलभन्दा बढी शुल्क असुल गरेमा वा गुणस्तरमा ठगी गरेमा सोझै प्राधिकरणमा उजुरी दर्ता गर्न सम्पूर्ण ग्राहक तथा उपभोक्ताहरूलाई आह्वान गरिएको छ।






